काठमाडौं, ८ फागुन । नेपाल आयल निगमले आज फागुन ८ गतेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ।
निगमले शनिबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले बढाएको हो।
यससँगै अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ।
यस्तै हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जनाउनुभएको छ।
मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमै २ अर्ब १५ करोड रुपैयाँ घाटा यथावत नै रहेको कार्कीले बताउनुभएको छ।
यो मूल्य नबढाउँदा निगमलाई १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको थियो ।
यसअघि निगमले गत माघ १८ मूल्य बढाएर हालसम्मकै महँगो बनाएको थियो। त्यो रेकर्ड शनिबार फेरि तोडिएको छ।
नेपाल आयल निगमले बुधबार मात्रै प्राप्त मूल्य सूची अनुसार भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको जनाएको थियो।
बुधबार भारतबाट पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ प्रतिलिटर ५ रुपैयाँभन्दा धेरैले बढेर आएको निगमले जनाएको थियो।
निगमले हाल अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम् विन्दुमा रहेको जनाएको छ।
कच्चा तेलको मूल्य अमेरिकी डलर ९० देखि ९६ प्रति ब्यारेल पुगिसकेको निगमले जनाएको छ।
इन्डियन आयल कर्पोरेसनबाट निरन्तर मूल्य बृद्धि गराएर पेट्रोलिय पदार्थ आइरहेकाले घाटा पनि उच्च बिन्दुमा पुगेको निगमका सहप्रवक्ता कार्कीले बताउनुभएको छ ।



















