मस्कट(ओमान), ९ फागुन । आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायर ए अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल क्यानडासँग खेल्दैछ ।
मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराह्न ३ः४५ बजे खेल प्रारम्भ हुनेछ । यसअघि दुई खेल जितिसकेको नेपालले क्यानडालाई पराजित गरेमा समूह विजेता बन्दै सेमिफाइनल पुग्नेछ ।
नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले र फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरेको थियो ।
नेपाल ४ अंक जोडेर शीर्ष स्थानमा छ । क्यानडा र ओमान समान २ अंक जोड्दै दोस्रो र तेस्रो स्थानमा छन् ।
तुलनात्मक रुपमा क्यानडा क्रिकेटमा नेपालभन्दा कमजोर छ । नेपालले क्यानडालाई जितेमा नेपाल सिधै सेमिफाइनलमा पुग्नेछ ।
नेपालका क्याप्टेन सन्दीप लामिछाने र मुख्य प्रशिक्षक पुबुदु दासानायक नेपाली खेलाडी उच्च मनोबलका साथ मैदानमा उत्रिने भएकोले आजको खेलमा नेपालले जित्नेमा ढुक्क देखिएका छन् ।
यदि नेपाल क्यानडासँग पराजित भएमा र ओमानले फिलिपिन्सलाई हराएमा तीन टोलीको समान अंक हुनेछ र त्यसमा नेट रनरेट निर्णायक बन्नेछ ।
आजै अर्को खेलमा ओमानले फिलिपिन्ससँग खेल्दैछ ।


















