मस्कट(ओमान), ९ फागुन । नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल क्यानडाविरुद्ध शानदार जित हासिल गर्दै आइसीसी टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
नेपालले लीग चरणको अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्यो।
टस जितेर ब्याटिङ रोजेको क्यानडालाई नेपालले १५ ओभरमा ८० रनमा अलआउट गरेको थियो।
जवाफमा १४.१ ओभरमा दुई खेलाडी गुमाई नेपालले ८१ रनको लक्ष्य पूरा गर्यो।
अविजित रहेका कुशल भुर्तेलले ३४ र दीपेन्द्र सिंह ऐरीले २७ रन प्रहार गरेका थिए।
आसिफ सेख १७ रनमा आउट भएका थिए भने कुशल मल्ल शून्य रनमा नै आउट हुन पुगे।
जितसँगै नेपाल सबै तीन खेल जितेर समूह बी को विजेताको रूपमा सेमिफाइनलमा पुगेको छ।
फिलिपिन्सलाई ३६ रनमा अलआउट गरेर २.५ ओभरमा दोस्रो खेल जितेको ओमान पनि समूहबाट सेमिफाइनलमा पुगेको छ।
अब नेपालले भोलि मङ्गलवार हुने सेमिफाइनलमा यूएईसँग खेल्नेछ।
सोमवार भएको समूह ए को खेलमा बहराइनसँग दुई रनले पराजित भएपछि यूएई दोस्रो स्थानमा झर्न पुगेको थियो।
समूह ए बाट विजेता बनेको आयरल्याण्डले भने ओमानसँग खेल्नेछ। सेमिफाइनलका विजेता सन् २०२२ को विश्वकपका लागि छनौट हुनेछन्।
समूह बी बाट क्यानडा र फिलिपिन्स तथा समूह ए बाट बहराइन र जर्मनी बाहिरिएका छन्।
बलिङ प्रभाव कायमै
यसअघि टस हारेर पहिलो फिल्डिङ पाएको नेपालले बलिङमा आफ्नो धारलाई कायम नै राख्यो।
पहिलो ओभरमा नै कमलसिंह ऐरीले क्यानडाका विश्वासिला ब्याटर म्याथ्यु स्पोर्सको विकेट लिएर नेपाललाई राम्रो सुरुवात दिलाए।
तर त्यसपछि आएका कप्तान नवनित धालिवाल र ओपनर रायन पठानले क्यानडाको इनिङलाई आक्रामक रूपमा अगाडि बढाए।
दुवैले दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गरेपछि क्यानडा ठूलो लक्ष्यतिर अग्रसर देखियो।
तर पाँचौ ओभरमा २ चौका र १ छक्का प्रहार गरेर १८ रनमा खेलिरहेका धालिवाललाई दीपेन्द्र ऐरीले लोकेश बमबाट क्याच आउट गराए।
ओपनर पठान भने रविन्दरपल सिंहसँगको असमझदारीमा छैटौँ ओभरको दोस्रो बलमा रन आउटको सिकार हुन पुगे। पठानले १ छक्का र १ चौकाको मद्दतले ११ बलमा १४ रन जोडे।
नेपाल क्रिकेट
सिंह सोही ओभरको अन्तिम बलमा आउट हुँदा क्यानडा ३९।४ को कठिन अवस्थामा पुगिसकेको थियो।
टस जितेर ब्याटिङ गर्ने क्यानडाको निर्णयलाई ब्याटरहरूले सहि साबित गर्न सकेनन्। खेलाडीहरू एकपछि अर्को गर्दै आउट भएका थिए।
स्कोरबोर्डमा १० रन बढी थपिँदा टोलीका पाँच ब्याटरहरू आउट भइसकेका थिए र टोली ४९ । ९ को दयनीय स्थितिमा पुगिसकेको थियो।
सातौँ ओभरमा आएका कप्तान सन्दीप लामिछानेले ओभरको बलमा हम्जा तारिकलाई एलबीडब्ल्यूको धरापमा पारे।
आठौं ओभरमा साद विन जफर हतारोमा रन आउटको सिकार भए।
लामिछानेले नवौँ ओभरको अन्तिम बलमा कलिम सानालाई कुशल मल्लबाट क्याच गराए भने ११ औँ ओभरको पहिलो बलमा जुनेद सिद्दीकीलाई एलबीडब्ल्यूको पासोमा फसाए।
१० औँ ओभरमा कुशल मल्लले हर्ष थकेरलाई एलबीडब्ल्यूकै धरापमा पारे।
अन्तिम विकेटका रूपमा आएका डिलोन हेलिङ्गर र सलमान नजरले क्यानडाको योगफल बढाउन भूमिका खेले।

क्रिकेट नेपाल
१२ औँ ओभरमा हेलिङ्गरले ऐरीलाई दुई विशाल छक्का प्रहार गरेका थिए।
त्यति बेला टिभी कमेन्टेटरले भनेका थिए ः साथीहरूको खराब प्रदर्शनको रिस हेलिङ्गरले ऐरीमा पोखे।
उनको पहिलो छक्का मस्कटको अल एमीरेट्स स्टेडियमबाट बाहिर पुगेको थियो।
चौधौँ ओभरमा हेलिङ्गर र सलमान नजरले मुखियाविरुद्ध एक एक चौका हानेपछि क्यानडाको स्कोर ७७ ।९ को स्थितिमा उक्लिएको थियो।
तर १५ औँ ओभरको अन्तिम बलमा बोहराले नजर (१० रन)लाई कप्तान लामिछानेबाट क्याच आउट गराएसँगै क्यानडाको इनिङ ८० रनमा समाप्त भयो।
खेलाडी परिवर्तन
फिलिपिन्स विरुद्धको खेलमा आराम दिइएका तीब्र गतिका बलर कमल सिंह ऐरी नियमित टोलीमा फर्केका थिए।
उनको स्थानमा खेलेका गुलशन झा टिमबाट बाहिरिएका थिए।
प्रशिक्षक पुबुदु दशानायकेले टोलीमा अरू परिवर्तन गरेनन्।
Not even 5 minutes have passed since Nepal clinched victory over Canada to move into the WCQ semis & @PDassnayake is wasting no time squeezing in some range hitting practice with Lokesh Bam ahead of tomorrow's semifinal against UAE. Winner goes on to the 2022 Men's T20 World Cup. pic.twitter.com/G8FKE0zBXD
— Peter Della Penna (@PeterDellaPenna) February 21, 2022
(बीबीसी)


















