काठमाडौँ, १३ फागुन । आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।
बिहिबार दिउँसो १ बजेको लागि निर्धारित बैठक राजनीतिक दलहरुबीच सहमति जुटाउने उद्देश्यले प्रधानमन्त्री शेरबहादुर देउवाको अनुरोधमा आजसम्म स्थगित गरिएको थियो ।
बैठकमा नेपाल सरकारले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशनबाट नेपालको सडक विस्तार र विद्युत प्रशारण लाईन निर्माणको लागि दिने ६० अर्ब भन्दा बढी अनुदान सहयोगसम्बन्धी संझौतामा छलफल गर्ने कार्यसूची रहेको छ ।
हिजो कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस विषयमा छलफल चलिरहदा सभामुख अग्निप्रसाद सापकोटासमक्ष कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिका लागि बैठक स्थगित गरिदिन आग्रह गर्नुभएको थियो ।
मन्त्रीद्वयको आग्रहपछि बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
राजनीतिक सहमतिको प्रयासका लागि सरकारले छलफलको समय सार्न आग्रह गरेको हो । बैठक स्थगित लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्तासमेत भयो ।
एमालेले आफ्नो पार्टीले प्रतिनिधिसभाको सदस्यबाट केही सदस्यहरुलाई निस्कासन गर्न दिएको सूचना सभामुखले समयमा टाँस नगरेकोले त्यो सूचना टाँसको प्रक्रिया पूरा भएपछि मात्रै संसद सुचारु गर्न दिन नत्र अवरोध कायम राख्ने अडान दोहोर्याइरहेको छ ।
एमसीसी राष्ट्रहितमा रहेको र यसलाई पारित गर्नुपर्ने धारणा पनि एमाले नेताहरुले सार्वजनिक गरिरहनुभएको छ ।
एमालेले सत्ता पक्षसँग बहुमत रहेकाले प्रतिपक्षले सरकारको बिजनेस कसरी अघि बढाउने निर्णय गर्न नमिल्ने एमाले नेताहरूले बताउनुभएको छ ।
एमाले सचिव एवं सांसद योगेश भट्टराई सरकारसँग बहुमत रहेकाले पारित हुने नहुने विषय प्रतिपक्षको सरोकारको विषय नभएको बताउनुभयो ।
सत्ता गठबन्धन सम्झौताका विषयमा विभाजित छ । माओवादी केन्द्रले विपक्षमा मत दिने अडान लिइरहेको छ भने नेकपा (एकीकृत समाजवादी) एमसीसीको विषयमा विभाजित छ ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्ता गठबन्धन जे जस्तो भए पनि यथास्थितिमा एमसीसीको पक्षमा मत नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धन बन्छन् भत्किन्छन्, मुख्य कुरा राज्यको सार्वभौमिकताको प्रश्न हो । हामी यथास्थितिमा एमसीसीको पक्षमा मतदान गर्दैनौँ ।”
एमसीसी निर्णायक बन्दै जाँदा गठबन्धन कसरी अघि बढ्ने अन्योलमा परेको छ । गठबन्धनका दलहरू नै अलमलमा परेपछि सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले प्रमुख विपक्षी दल एमालेसँग संवाद अघि बढाएको छ ।
काँग्रेस सांसद मीन विश्वकर्माले गठबन्धनको भविष्य र एमसीसीको विषय चाँडै निर्क्यौल हुने बताउनुभयो ।
फागुन ८ गतेको प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता पेस भएको थियो । अर्थमन्त्रीको अनुपस्थितिमा सञ्चारमन्त्री कार्कीले सो प्रस्ताव पेस गर्नुभएको थियो ।
प्रस्तावमा बिहीबारदेखि सैद्धान्तिक छलफल अघि बढाउने तयारी भए पनि प्रस्ताव स्वीकृत हुने वा नहुने अन्योलका कारण सरकारकै आग्रहमा बैठक सारिएको हो ।


















