काठमाडौं, १६ फागुन । प्रतिनिधिसभाबाट एमसीसी संझौता अनुमोदन भएको विरोधमा विभिन्न आठ राजनीतिक दलले गरेको नेपाल बन्द काठमाडौं उपत्यकामा प्रभावहिन देखएको छ भने उपत्यकाबाहिर आंशिक परेको छ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार उपत्यकाको अवस्था सामान्य छ। सवारीसाधानको सञ्चालन भइरहेको छ।
उपत्याकामा सडक अवरोध गर्न निस्किएका ६ जनालाई सोमबार बिहान नियन्त्रणमा लिइएको छ। उनीहरुमध्ये नयाँबसपार्कबाट चार, चाबहिल चोक र स्वयम्भुबाट एकरएकजनालाई नियन्त्रणमा लिइएको हो।
बन्द आह्वानका कारण शैक्षिक संस्थाहरु ठप्प रहेका छन् । विद्यालयहरुले असहज परिस्थितिबीच आज विद्यालय संचालन गर्न नसक्ने जानकारी पठाएका छन् । केही विद्यालयले भने यसअघिदेखि संचालित रहँदै आएको अनलाइन कक्षालाई आज पनि निरन्तरता दिने जनाएका छन् ।
उपत्यका बाहिरको हकमा भने सवारी चलेका छैनन् । लामो दूरीका यातायात ठप्प छन् ।
कञ्चनपुरमा बिहानैदेखि यातायात सेवा ठप्प छ। महेन्द्रनगर बस पार्कबाट छुट्ने लामो र छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन्। बन्दकर्ताहरूले महेन्द्रनगरस्थित पूर्वपश्चिम राजमार्गको संविधान चोक, भासी, मदनचोकलगायत विभिन्न ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिरहेको प्रहरीले बताएको छ।
बन्दलाई मध्यजनगर गर्दै सुरक्षा व्यवस्था कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ। ठाउँठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। बजार क्षेत्र भने आंशिक रुपमा खुल्न थालेको छ।
प्रदेश १ मा बन्दको प्रभाव खासै नपरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिनुभएको छ।
एमसिसीको विरोधमा नेत्रविक्रमचन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य किरण नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी), मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्वको नेकपा‚ आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले आज नेपाल बन्दको घोषणा गरेका हुन्।
बन्द आह्वान गर्ने दलहरुले विगतमा पनि निरन्तर एमसीसीको विरोध गर्दै सडक आन्दोलन गर्दै आएका हुन् । उनीहरुले हिजो बेलुकी राँके जुलुस निकालेका थिए ।


















