Prakash Adhikari March 1, 2022

 

किएभ(युक्रेन), १७ फागुन । युद्धविराम गर्ने वार्ता हुँदाहुँदै युक्रेनमा रुसी र युक्रेनी फौजहरूबीच लडाइँ चर्केको छ।

युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसको क्षेप्यास्त्र हमलाबाट कैयौँ सर्वसाधारण मारिएका छन्।

अर्कोतर्फ राजधानी किएभमा खतराको जनाउ दिने साइरन फेरि बजेका छन्।

उत्तरी शहर चर्निभमा भीषण गोलाबारी भइरहेका विवरणमा आएका छन्।

गति कम
रुसले युक्रेनमाथि थुप्रै मोर्चाबाट हमला गरिरहेको छ। तर युक्रेनी फौजको प्रतिवादका कारण अगाडि बढ्ने गति कम भएको छ। तीनवटै शहर युक्रेनको नियन्त्रणमा छन्।

युद्ध मैदानबाट परको कुरा गर्नुपर्दा आर्थिक र कूटनीतिक कदमहरूले निरन्तरता पाएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा प्रतिबन्धहरूका कारण देशको मुद्रा रुबलको मूल्यमा थप गिरावट आउन नदिने प्रयासमा रुसीहरूलाई विदेशमा रकम लैजान प्रतिबन्ध लगाउनुभएको छ।

संयुक्त राष्ट्रसङ्घीय महासभाको एउटा विरल आपत्कालीन सत्रले तत्काल लडाइँ रोक्नुपर्ने महासचिवको माग सुनेको छ।

वार्तामा के भयो ?
यसैबीच, युक्रेन-बेलारुस सीमामा रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको छ।

वार्ताले कुनै ठूलो नतिजा निकाल्ने खासै अपेक्षा गरिएको थिएन।

तर एक युक्रेनी अधिकारीले दुवै पक्ष आआफ्नो राजधानी फर्केर आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने बताए।

किएभ

रुसका अनुसार दुवै पक्ष वार्ता जारी राख्न सहमत भएका छन् र आगामी केही दिनभित्र फेरि वार्तामा बस्ने सहमति भएको छ।

रुसले अन्धाधुन्ध आवासीय क्षेत्रहरूमा गोलाबारी गरिरहेको आरोप लगाउँदै त्यो मानवता विरुद्धको अपराध हुनसक्ने मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले जनाएको छ।

तर आवासीय क्षेत्रलाई निशाना बनाइरहेको कुरा रुसले अस्वीकार गर्दै आएको छ।

Share Now

Leave a comment.