Prakash Adhikari March 1, 2022

 

खार्खिभ(युक्रेन), १७ फागुन(बीबीसी) ।सर्लाही, लालबन्दीका रोजन झा विगत चार दिनदेखि युक्रेन खार्किभस्थित एक मेट्रो स्टेसनको भुईँमा समय कटाउन विवश हुनुहुन्छ। रुस र युक्रेनबीच तनाव चर्किएपछि आक्रमणको जोखिमबाट बच्न त्यहाँ शरण लिनेहरूको भीडमा आफू एक्लो नेपाली भएको उहाँ बताउँनुहुन्छ।

“केही सोच्नै सकेको छैन। यहाँबाट निस्कनु नै जोखिमपूर्ण छ”, झाले आफ्नो अवस्थाको व्याख्या गर्नुभयो।

रोजनले वरपर बसेका केही मानिसहरू खानेकुरा सकिएर समस्यामा परेको देख्नुभएको छ।

आफूले उद्धारका लागि बर्लिनस्थित नेपाली राजदूतावास समक्ष आग्रह गरेको उहाँले सुनाउनुभयो।

जवाफमा आफू बसेको ठाउँबाट पोल्यान्ड वा हङ्गेरीको सीमासम्म पुग्न सके त्यहाँबाट निस्कन र नेपाल फर्कने व्यवस्था गरिदिने बताइएको उहाँ बताउनुहुन्छ।

“नेपाल सरकारको तर्फबाट बोर्डरसम्म आउनु भनियो तर कसरी आउने भनिएन, व्यवस्था गरिएन।”,आफ्नालागि निकटको सीमा क्षेत्र करिब १२०० देखि १५०० किलोमिटर टाढा भएको रोजन बताउँनुहुन्छ ।

के गर्दै छ सरकार ?
“परिवारले मलाई नेपाल फर्काउन सक्दो कोसिस गरिरहेको छ तर यहाँको अवस्था हेर्दा लाग्छ, सरकारले पहल गरे मात्र हाम्रो समयमै उद्धार हुन्छ।”

मेट्रो स्टेसनमा रोजन झा।

मेट्रो स्टेसनमा रोजन झा।

तनावबीच युक्रेनसँग सीमाना जोडिएका छिमेकी मुलुकहरू स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले मानवताको आधार दर्शाउँदै आफ्ना मुलुक प्रवेश गर्न चाहनेहरूका लागि नाका खुला गरिदिएका छन्।

सीमासम्मको कष्टपूर्ण यात्रा, त्यहाँबाट आफ्नो देश !

बुकोभिनियन स्टेट मेडिकल विश्वविद्यालय, चर्निभ्सीमा एमएस जनरल सर्जरीमा अध्ययनरत डा. पवन तिवारी सङ्गै अध्ययनरत् अर्का डा. गणेशकुमार विष्ट १० किलोमिटर ट्याक्सी र बाँकी २० किलोमिटर पैदल हिँडेर सीमा क्षेत्रमा पुग्नुभयो। त्यहाँ चार दिनदेखि सीमा खुल्ने पर्खाइमा रहेकाहरूसँग मिसिएको केही घण्टापछि रुमेनिया छिर्न पाएको उहाँले बताउनुभयो।

“अन्य देशका नागरिकहरूलाई सम्बन्धित देशको झन्डा अङ्कित गाडीमार्फत सीमासम्म छोडियो। हामी भने बल्लबल्ल सीमा पार गर्‍यौँ र आफ्नै खर्चमा नेपाल फर्कँदै छौँ।”

आफूहरूलाई रुमेनियामा रहेका नवराज पोखरेलले दस्ताबेज बनाउन, सीमा पार गर्न र खान, बस्न सहयोग गरेको सुनाउनुभयो।

युक्रेन नेपाली

युक्रेन नेपाली

बर्लिनस्थित नेपाली राजदूतावासले युक्रेनमा रहेका नेपालीहरूलाई प्रत्यक्ष दूतावासमा वा रुमेनियामा रहेका पोखरेललगायत स्लोभाकिया, पोल्यान्ड, हङ्गेरीका गैर आवासीय नेपाली सङ्घ वा त्यहाँका प्रतिनिधिमार्फत सम्पर्कमा आउन आग्रह गरेको थियो।

राजदूतावासकी तृतीय सचिव सहारा चौलागाईका अनुसार प्रत्यक्ष एवं सङ्घहरूमार्फत युक्रेनमा रहेका करिब २३० जना नेपालीले युक्रेनबाट निस्कनका निम्ति नाम टिपाएका  छन।

“हामीकहाँ सम्पर्कमा आउनेहरूको सङ्ख्या बढ्दो छ। धेरै जना सीमा वा सीमाबाट अन्य देशको सहरहरूतर्फको यात्रामा भएकाले कति जनाले युक्रेन छोड्नु भयो भन्ने यकिन तथ्याङ्क छैन”, उहाँले जानकारी दिनुभयो।

हालसम्म स्लोभाकियामा २७ जना, रुमेनियामा १२ जना, हङ्गेरीमा ४ जना र पोल्यान्डमा ५० देखि ६० जना नेपाली पुगिसकेका बताइएको छ।

“पोल्यान्ड छिरेपछि धेरै जनासँग मोबाइल फोनको सिम कार्ड उपलब्ध नहुने भएकाले हामीसँग सम्पर्कमा आउनु भएको छैन। त्यसैले यकिन तथ्याङ्कका लागि पहल गरिरहेका छौँ “, उहाँले भन्नुभयो ।

पोल्यान्डको सीमामा थप नेपालीहरू आएर बसेको विवरण बर्लिनको नेपाली राजदूतावासलाई प्राप्त भएको बताइएको छ।

“त्यहाँबाट युक्रेनका नागरिक र बालबालिका भएका महिला र अन्य महिलाहरूलाई प्राथमिकता दिएर प्रस्थान गराइएको छ भन्ने खबर छ। नेपाली पुरुषहरूले आफू पोल्यान्ड छिर्न नपाएको गुनासोसहित सम्पर्क गरिरहनु भएको छ। हामीले उहाँहरूका लागि पनि आवश्यक पहल गरेका छौँ “, चौलागाईले भन्नुभयो ।

युक्रेन- पोल्यान्डको सीमामा उल्लेख्य नेपाली

युक्रेन र रुसबीचको द्वन्द्व सुरु भएयता युक्रेनमा रहेका केही नेपालीहरू छिमेकी मुलुकमा गइरहेका छन्। तीमध्ये सर्वाधिक पोल्यान्ड पसेको वा त्यस देशको सीमामा रहेको जानकारहरू बताउँनुहुन्छ।

सीमा क्षेत्रमा युक्रेन छोड्ने मानिसहरू।

सीमा क्षेत्रमा युक्रेन छोड्ने मानिसहरू।

पोल्यान्ड भित्रनेहरूको लागि आवास र खाद्यान्नको व्यवस्थाका लागि समन्वयमा खटेका क्यान्सर रोग विशेषज्ञ डा. बोधराज सुवेदीका अनुसार त्यहाँ भित्रिएकाहरूका लागि खाना, ओछ्यान, लत्ताकपडा र स्वास्थ्य सेवासहितको शिविरहरूमा बस्ने सुविधा मिलाइएको छ।

तर प्रायः नेपालीहरू शिविरमा नभई आफन्त, साथीभाइ वा चिनजानको मानिसकहाँ गएको उहाँको कथन छ।

महिलाका लागि पोल्यान्ड प्रस्थान केही सहज भए पनि पुरुषहरूका लागि सीमा प्रहरीका प्रवक्ता र सांसद मारेक रिजेकासँग आग्रह गर्नु परेको उहाँले जिकिर गर्नुभयो।

“उहाँहरूमध्ये २र४ जना मात्र शिविरमा जानु भयो। बाँकी चिनजानको नेपालीकहाँ हुनुहुन्छ तर सिम कार्ड नभएकाले हुनसक्छ हामीसँग सम्पर्कमा आउनु भएको छैन”,उहाँले भन्नुभयो।

ूधेरैले आफूसँग पासपोर्ट नभएको बताउनु भएको छ जसका कारण नेपाल पठाउने प्रक्रिया सुरु भएको छैन।ू

पोल्यान्ड पसेपछि सम्पर्कमा नरहने भएकै कारण युक्रेनबाट यस देशमा पसेका नेपालीहरूबारे तथ्याङ्क यकिन नभएको राजदूतावासकी तृतीय सचिव चौलागाईले बताउनुभयो।

उहाँका अनुसार राहदानी साथै अन्य आवश्यक कागजपत्र नभएको अवस्थामा नेपालीहरूलाई यात्रा अनुमति पत्र बनाइ नेपाल फर्काइने प्रावधान छ।

युक्रेन नेपाली

नेपालीलाई देश फर्काउन के गर्दै छ मन्त्रालय ?
परराष्ट्र मन्त्रालयले तत्काल युक्रेनमा रहेका नेपालीलाई सुरक्षित रूपमा त्यहाँबाट निकाल्न जोड दिइरहेको अधिकारीहरूले बताएका छन्।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार हालसम्म २ सय ३० जनाभन्दा बढीले त्यहाँबाट निस्कन चाहेको बताएका छन् र तीमध्ये १ सय ७४ जना विभिन्न छिमेकी मुलुकमा प्रस्थान गरिसकेका छन्।

“नेपाल नै फर्कन चाहन्छौँ भन्ने दुई जना डाक्टर मंगलबार नेपाल आइपुग्दै हुनुहुन्छ। तीबाहेक अन्यले हालसम्म नाम टिपाएको जानकारी मन्त्रालयलाई आएको छैन”, लम्सालले बीबीसीसँग भन्नुभयो।

सङ्कटमा रहेका नेपालीहरूसम्मको पहुँच र उनीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गराउनका लागि मस्को र बर्लिनस्थित राजदूतावासहरू र विभिन्न नेपाली सङ्घ संस्थाहरूसँग समन्वयन भइरहेको जानकारी उहाँले दिनुभयो।

“कति जना नेपाल फर्कन चाहन्छन् भन्ने यकिन भएपछि बल्ल खर्चको सम्बन्धमा छलफल हुनेछ। त्यसका लागि हामी दूतावासको सुझाव पनि आत्मसात् गर्छौँ “, लम्सालले बताउनुभयो।

मेट्रो स्टेसनमा उद्धारको पर्खाइमा रहेका रोजन भन्नुहुन्छ, “आफ्नो देशबाट सहयोगको आशा छ। त्यो पाउन ढिला नहोस्।”

Share Now

Leave a comment.