मस्को(रुस), १७ फागुन(बीबीसी) । रुसको रक्षामन्त्रालयले किएभका बासिन्दाहरूलाई एक चेतावनी जारी गर्दै आफूहरूले युक्रेनी राजधानीमा लक्षित हमला गर्न लागेको जनाएको छ।
मङ्गलवार अपरान्ह एक वक्तव्य जारी गर्दै रुसी अधिकारीहरूले उनीहरूको फौजले ‘किएभस्थित युक्रेनी सुरक्षा सेवा तथा मुख्य साइअप्सका प्राविधिक केन्द्र’ हरूमा‘लक्षित हमला’ गर्ने तयारी गरिरहेको बताएका छन्।
“राष्ट्रवादीहरूद्वारा रुसलाई भड्काउन प्रयोग भइरहेका युक्रेनी नागरिक तथा रिले स्टेशन नजिक बसोबास गर्ने किएभका बासिन्दाहरूलाई आफ्ना घर छाडेर जान हामी आह्वान गर्छौँ,” उक्त वक्तव्यमा उल्लेख छ।
रुसविरुद्ध ‘सूचना युद्ध’ रोक्न यी हमला गर्न लागिएको रुसी अधिकारीहरूको दाबी छ।
यसबीच युक्रेनी रक्षामन्त्रीले चाहिँ रुसको सम्भावित ‘मनोवैज्ञानिक हमला’बारे सजग गराउनुभएको छ।
फेसबुकमा लेख्दै उहाँले रुसले सञ्चार अवरुद्ध पार्ने योजना बनाइरहेको बताउनुभयो।
“त्यसपछि युक्रेनी सेना तथा राजनीतिक नेतृत्वले आत्मसमर्पणको निम्ति सहमति जनाएका जस्ता झुटा समाचार व्यापक रूपमा फैलाइनेछ,” उहाँले लेख्नुभएको छ।
“त्यस्ता झुटा समाचारलाई स्थापित गर्न नक्कली भिडिओ वा हस्ताक्षर गरिएका जाली कागज देखाइने छन्।”
उहाँले कुनै ‘आत्मसमर्पण’ नहुने बरु केवल ‘विजय’ हुने पनि बताउनुभएको छ।
रुसी बख्तरबन्दको लस्करले किएभमा त्रास
युक्रेनी राजधानी किएभतर्फ अघि बढ्दै गरेको रुसी बख्तरबन्द गाडीहरूको लामो लस्करको दृश्यले ‘विश्वले हेरिरहेको छ’ भन्ने उक्तिलाई नै एउटा बिल्कुल नयाँ र डरलाग्दो अर्थ दिएको छ।
वास्तवमै विश्वभरि सबैले यो लस्कर लम्कँदै गरेको देख्न सक्छन्। अनि प्राप्त विवरणहरू अनुसार सहरतर्फ पुग्दै गर्दा यो झनै विस्तार हुँदैछ।
यी त्रासहरूका माझ युक्रेनका अन्य भागहरूबाट आएका खबरले झन् डर थपिरहेको छ।
सघन जनसङ्ख्या भएका ठाउँहरूमा रुसले मानिसहरूलाई खाना, पानी र अत्यावश्यक आपूर्ति रोक्ने ुमध्ययुगीन तरिका’ अपनाउन थालेका विवरण आएका छन्।
यो आक्रमण सुरु हुँदा शायद केही दिनमा वा अझ केही घण्टाभित्रै रुसको शक्तिशाली सेनाले किएभ कब्जा गरिसक्ला भन्ने ठानिएको थियो।
तर छ दिन बितिसक्दा पनि युक्रेन झुकेको छैन। उसको सेनाले पश्चिमा हतियार र गोलीगठ्ठा प्रयोग गरेर चर्को प्रतिरोध मात्रै गरेको छैन। सर्वसाधारण नागरिकहरूले पनि बन्दूक उठाएका छन् अनि टोलटोलमा प्रतिकार गर्न तथा अग्रमोर्चामा खटिन थालेका छन्।
तर यो पछिल्लो लस्कर बिस्तारै राजधानीतर्फ अघि बढ्दै गरेको छ। विस्फोटका आवाज झन् झन् ठूला सुनिन थालेको छ।
जेलेन्स्कीलाई उठेर अभिवादन, लाभ्रोभको बहिष्कार
मङ्गलवार युरोपमा भएका बेग्लाबेग्लै कार्यक्रममा युक्रेनका राष्ट्रपति र रुसी विदेशमन्त्रीले एकदम भिन्न प्रतिक्रिया पाए।
युरोपेली संसद्को विशेष बैठकमा भिडिओ लिङ्कमार्फत् बोल्न उपस्थित हुँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई युरोपेली सांसदहरूले उठेर ताली बजाउँदै न्यानो अभिवादन गरेका थिए।
राष्ट्रपति जेलेन्स्कीले युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने अभिव्यक्ति दिनुभएको थियो।
यसबीच जिनिभामा भएका संयुक्त राष्ट्रसङ्घका दुईवटा निकायका बैठकहरूलाई भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्न उपस्थित रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभलाई भने पश्चिमा देशका राजदूतहरूले बहिष्कार गरेका छन्।
ती सम्बोधनमा लाभ्रोभले युरोपमाथि रुसविरोधी बहुलट्टीपूर्ण गतिविधि गरिरहेको आरोप लगाउनुभएको थियो।
उहाँले युरोपले पश्चिमा सहयोगमा परमाणुअस्त्र प्राप्त गर्न खोजिरहेको आरोप लगाउँदै अब अमेरिकी क्षेप्यास्त्रहरू युरोपबाट फर्काउने बेला आएको बताउनुभएको थियो।


















