काठमाडौं, २० फागुन । राष्ट्रिय सभाका नव निर्वाचित १९ जना सांसदहरुो सपथग्रहण शनिवार(माघ २१ गते) हुने भएको छ ।
प्रत्येक दुई बर्षमा राष्ट्रिय सभाका एक तिहाई सदस्यहरुको पदावधि समाप्त हुने संवैधानिक व्यवस्था अनुसार २०७४ वर्तमान संविधान जारी भएपछि गठन सम्पन्न तीन तहको निर्वाचन पछि गठन भएको राष्ट्रिय सभाका २० जना सांसदका पद आजदेखि समाप्त भएको छ ।
त्यसमध्ये निर्वाचित भएर आउने १९ जना र एक जना राष्ट्रपतिबाट नियुक्त सांसद रहेका छन् ।
गत माघ १२ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा १९ जना निर्वाचित हुनुभएको छ ।
सो निर्वाचनमा नेपाली कांग्रेसबाट छ, नेकपा माओवादी केन्द्रबाट पाँच, नेकपा एकीकृत समाजवादीबाट पाँच, नेकपा एमालेबाट एक, जसपाबाट एक, राष्ट्रिय जनमोर्चाबाट एक सांसद निर्वाचित हुनुभएको छ।
१२ माघमा सम्पन्न निर्वाचनमा प्रदेश १ बाट नेकपा एकीकृत समाजवादीकी जयन्ती देवी राई, नेकपा एमालेका सोनाम गेल्जेन शेर्पा र नेपाली काँग्रेसका गोपालकुमार बस्नेत विजयी हुनुभएको थियो।
मधेश प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जसपा नेपालका मोहम्मद खालिद निर्वाचित हुनुभएको छ।
बाग्मती प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमिल्सीना र नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित हुनुभएको छ।
गण्डकी प्रदेशबाट नेपाली काँग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रका भुवनबहादुर सुनार र सुरेशकुमार आलेमगर चुनिनुभयो ।
लुम्बिनीबाट नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र नेपाली काँग्रेसका युवराज शर्मा निर्वाचित हुनुभएको छ।
कर्णाली प्रदेशबाट नेपाली काँग्रेसकी दुर्गा गुरुङ्, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहरा चुनिनु भयो।
यस्तै सुदूरपश्चिम प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी गरिमा शाह, नेकपा माओवादी केन्द्रका जगतबहादुर पार्की र नेपाली काँग्रेसका नारायणदत्त मिश्र निर्वाचित हुनुभएको छ।
राष्ट्रिय सभामा एमालेको सीट घट्दै
आज पदावधि समाप्त भएका सांसदहरुमा नेकपा एमालेका आठ, नेपाली कांग्रेसका तीन, नेकपा माओवादी केन्द्रका चार, नेकपा एकीकृत समाजवादीका चार र सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त एक जनाको पदावधि सकिएको हो।
माघ १२ मा भएको निर्वाचनमा नेकपा एमालले १ सीट मात्र जितेको छ । उसले राष्ट्रिय सभामा सात सीट गुमाएको छ ।
निर्वाचित नयाँ सांसदलाई शनिबार बिहान ११ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्षमा सपथ खुवाउने कार्यक्रम तय भएको छ।


















