सानेपा (ललितपुर), २० फागुन । नेपालमा लोकतान्त्रिक आन्दोलन सञ्चालन गर्नको लागि २०३० सालमा गरिएको विमान अपहरणमा संलग्न डी.बी.लामा (बोलीचालीमा बिरु लामा) को निधन भएको छ ।
ललितपुर जिल्ला ललितपुर महानगरपालिका, सानेपामा बस्दै आउनुभएका लामाको यही यही फाल्गुण १७ गते आफ्नै निवासमा निधन भएको हो ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ ।
नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री जयप्रकाश आनन्द(जे.पी आनन्द)ले फेसबुकमा गर्नुभएको बिरु लामासम्बन्धी पोष्ट यस्तो छः करिव ४६ बर्ष अघि हाम्रो चिनजान भएको थियो। जिन्सको पैन्ट र शर्ट लाएका, शर्टको बाहुलामा नेपाली काँग्रेसको झण्डा लेखाएका, कम अग्लो, थोरै बोल्ने, चुच्चे दाढी भएका उनले आफूलाई मिजोरमका नेपाली भन्थे। पूर्णिया, बिहारमा रहेका नेपाली काँग्रेसको भूमिगत क्याम्पमा हामी भेटेका थियौं। यसको केही महिनापछि पुनः फारबिशगंजको बंगाली टोलामा रहेको नेपाली काँग्रेसको अफिसमा भेटदा उनी पूर्व परिचित ‘हिरा लामा’ को सट्टा अत्यन्तै मिलनसार बिरू लामा भै सकेका थिए।
नेपालगंजमा जन्मेका, नेपाल पुलिसमा कार्यरत् एक नातेदारका कारण बिराटनगर रानीमा बस्दै गर्दा प्रवासमा रहेका नेपाली काँग्रेसका सम्पर्कमा आएका, नेपाली काँग्रेसका शसस्त्र कारवाहीका कारण फेरी प्रवास भारत लागेका बिरू लामा ‘विमान अपहरण काण्ड’ मा रकम लिई गिरिजाप्रसाद कोईराला फारबिशगंजबाट दार्जिलिंग लाग्नु हुदाँ जीपका चालक थिए, बिरू। यस पछि भारत सरकारबाट आपराधिक मुद्दा चलाईपछि उनी मिजोरम पुगेका थिए। यस पछि उनी पक्राउ परेर बिहारको जेलमा राखिए।
बि.स. २०३७ सालको जनमत संग्रह पछि उनि प्रवासिएका अन्य नेपाली काँग्रेसका नेता कार्यकर्तासंगै नेपाल भित्रिएका थिए। अनवरत् गिरिजाप्रसाद कोईरालासंग आवद्ध रहे,सबैले उनलाई गिरिजाबाबुका मोटर चालक भनि चिन्दथे। यसमा उनलाई कहिल्यै कुनै खेद रहेन। उनी नेपाली काँग्रेसका अविचलित कार्यकर्ता रहे। कहिल्यै कुनै लोभ राखेनन्।
यिनै बिरू लामाको हिजो काठमांडौ, सानेपा स्थित निवासमा देहावसान भयो। उनी लामो समयदेखि बिरामी थिए। केही महिना अघि म, मेरी श्रीमतीका साथ भेटन बयोधा अस्पताल गएका थियौ। “म छिटो नै निको भएर आउने छु” भनेका थिए। मेरी श्रीमती सरूले कयौं बर्षसम्म बिरू भाईलाई भाई टिका लाएकी थिईन। हिजो मेरा मित्र बिरू रहेनन्।
उनी नरहेको यस घडीमा मलाई बिशेषतः अरमिना लामाको संझना भै रहेको छ। जस्ले एक समय बिरूलाई अमूल्य माया गरेकी थिईन्। उनका छोरा, छोरी र सुषमाप्रति मेरो हार्दीक सम्वेदना छ। बिरूको आत्मालाई शांति मिलोस्। म आज संझिरहेको छु,कति राम्रा दिन थियो त्यो,जहाँ म, मेरी प्रेमिका सरू, बिरू, अरमिना, अनुराधा कोईराला, शैलजा दिदी, दिल बहादुर घर्ती, मुक्ता आचार्यहामी संगै बस्दथ्यौ। जीवनलाई बुन्दथ्यौ ।


















