काठमाडौं, २० फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
रुसले छिमेकी युक्रेनमाथि आक्रमण गरेपछि विश्व बजारमा खनिज तेलको मूल्य उत्कर्षमा पुगेसंगै एशियाली बजारमा पनि भाउ बढेको छ ।
नेपाल आयल निगमले दिएको जानकारी अनुसार इण्डियन आयल कर्पोरेसनले मार्च १ देखि लागू हुनेगरी पठाएको नयाँ मूल्यसूचीमा भाउ बढेकोले निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।
निगमकाअनुसार अहिले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको छ ।
नयाँ मूल्य अनुसार उपत्यकामा अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ तथा डिजेल र मट्टितेल १३३ रुपैयाँ पर्नेछ ।
पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो । यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १२९.५० डलर बढेको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।
निगमले सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार बढेको भाउमा पेट्रोलियम पदार्थ बिक्री गर्दा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर रु१६।२८, डजलमा ११।७८ र एलपीजीमा प्रति सिलिण्डर ६६५।३४ रुपैया नोक्सानी छ भने मट्टितेलमा प्रतिलिटर १९।५१ आन्तरिक तर्फको हवाई इन्धनमा २३।०८ र बाह्यतर्फकोमा ६०।२६ रुपैया नाफा छ ।
हालको खरिद र बिक्री मूल्यको हिसाब गर्दा निगमलाई अझै १५ दिनमा २ अर्ब ५० करोड नोक्सान हुने निगमले जनाएको छ ।
निगमले बढेको मूल्यमा पनि सीमावर्ती बीरगञ्ज शहरको पेट्रोल र डिजेलको मूल्य भारतको रक्सौलभन्दा प्रति लिटर रु.२४।२४ र रु.३१ । १७ सस्तो भएको दाबी गरेको छ ।


















