Prakash Adhikari March 12, 2022

काठमाडौं, २८ फागुन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गर्नुभएको छ।

गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गर्नुभएको छ।

गत वर्ष निर्वाचित एनआरएनएका ६५ राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरु मध्ये ५० भन्दा बढी एनसीसीहरुले गत आइतबार एक बैठक गरी प्रमुख संरक्षक घलेलाई संस्थाको संरक्षण गर्न आवश्यक सबै कदम चाल्न म्यान्डेट दिएका थिए ।

निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल (अमेरिका) तथा सदस्यहरुमा इन्द्रा बन (अस्ट्रेलिया), अधिवक्ता बासुदेव फुलारा (अमेरिका), मेजर (रिटायर्ड) डमर घले (युके), पुष्प थापा (जर्मनी), बिमल सुवेदी (कतार) तथा प्रकाश धमला (दक्षिण कोरिया) रहनुभएको छ।

प्रमुख संरक्षक शेष घलेले संघको दशौँ महाधिवेशन आयोजना गर्न एक महाधिवेशन आयोजक समिति पनि गठन गर्नुभएको छ।
संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिको सहसंयोजकमा अर्का उपाध्यक्ष मन केसी हुनुहुन्छ।

आयोजक समितिको सदस्यमा सबै एनसीसी अध्यक्षहरु, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकहरु लगायत रहनुहुने भएको छ।

दशौँ महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत्र ८ देखि ११) सम्म काठमाडौँमा आयोजना हुने बताइएको छ।

गत अक्टोबर २०२१ मा हुनुपर्ने दशौँ महाधिवेशन र निर्वाचन प्रतिनिधि विवादका कारण हुन नसके पछि आइसीसीले प्रमुख संरक्षक डा. शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो।

उच्चस्तरीय समितिले झन्डै २ हजार ६ सय मतदाताहरु रहेको सूची तयार गरेको छ। सोही सूचीको आधारमा निर्वाचन गराइने जनाइएको छ।

प्रमुख संरक्षक घलेले संघका सबै डेलिगेट्स तथा अभियन्ताहरुलाई सकभर छिटो काठमाडौँ आउन आग्रह गर्नुभएके छ। उहाले संस्था जोगाउन र एकजुट पार्न विधानले दिएको अधिकार प्रयोग गरी आफूले उक्त निर्णय गरेको बताउनुभयो।

उहाँले नेपाल सरकारसंग सहकार्य गरी सभ्य र भव्य रुपमा दशौँ महाधिवेशन सम्पन्न गर्न सहयोग गर्न सबैलाई अपिल पनि गर्नुभएको छ।

बामपन्थी संघ कब्जा गर्ने मार्गमा

गैर आवासीय नेपाली संघको वर्तमान नेतृत्वले यस पहिले नेकपा एमालेको सरकारको पालामा मनपरी ढंगले प्रतिनिधि चयन गराएर बामपन्थीको कब्जामा संस्थालाई लैजाने कसरत गरेपछि संघका लोकतन्त्रवादीहरुले विरोध गरेर गत अक्टोवरमा निर्धारित चुनाव रोक्न परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा प्रारम्भिक छानवीन गरी प्रतिनिधि चयनमा गडबडी गरेको पत्ता लागेपछि परराष्ट्रमन्त्रालयले हस्तक्षेप गरेर निर्धारित चुनाव रोकेको थियो ।

नयाँ सरकार आएपछि मन्त्रालयले संघको सल्लाहकार परिषद्लाई यसको विवाद निरुपण गरी निर्वाचन गराउने जिम्मेवारी पनि दिएको थियो ।

तर संस्थापन पक्ष भने अझै पेलेरै निर्वाचन गर्ने मुडमा देखियो र सल्लाहकार परिषद् नै विघटन गरेर पुन अधिवेशन र निर्वाचनको मिति तय गर्यो ।

संघमा देखिएको डेलिगेट्स विवाद समाधान नगरिकनै निर्वाचन कार्यक्रम अगाडि बढाइएपछि थप विवाद चर्किन पुगेको थियो । उच्चस्तरीय समितिले आफ्नो काम जारी राख्दा राख्दै अध्यक्ष कुमार पन्तले पठाएको ३ हजार ६ सय बढी प्रतिनिधिको नाम प्रकाशित गरेर निर्वाचन समितिले निर्वाचन कार्यक्रम अगाडि बढाएपछि थप विवाद भएको थियो ।

विद्रोही समूहका आचार्यले एनआरएनएलाई अझै पनि जोगाउने बाटो खुला नै रहेको भन्दै संस्थापनले आफ्ना कमजोरी स्वीकारेर सहमतिमा आउनुपर्ने बताउनुभएको छ ।

अहिले भने संस्थापन पक्षले घोषणा गरेको निर्वाचन लोकतन्त्रवादी समूहले वहिष्कार गर्ने भएको छ ।

संस्थापन पक्षले आगामी चैत ७ र ८ गते हुने भनिएको निर्वाचन मिति चैत १० र ११ गतेका लागि सारेको छ ।

गैर आवासीय नेपाली संघको निर्वाचन प्राविधिक पक्षलाई मध्यनजर गरी चैत १० र ११ गते (मार्च २४–२५ )हुने बताइएको छ । सूचनामा सो मितिमा निर्वाचन गर्न उपयुक्त हुने अन्तर्राष्ट्रिय समन्वय परिषदका अख्तियार प्राप्त अध्यक्षबाट लिखित निर्देशन प्राप्त भएको समेत उल्लेख गरिएको छ ।

संस्थापनको मनोनयन कार्यक्रमअनुसार ५० जना बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । जसअनुसार अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष डा.बद्री केसी र रविना थापा थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ उपाध्यक्षको लागि अस्ट्रेलियाबाट धर्मराज अधिकारी, बेलायतबाट डा.हेमराज शर्मा, जयप्रकाश गुरुङ, ओमनबाट डिबी क्षेत्रीले दरखास्त दिनुभएको छ ।

महिला उपाध्यक्षमा साउदी अरबबाट यासमिन बेगम सैयदले उम्मेदवारी दिनुभएको छ भने अफ्रिकाबाट रोशन थापाले युवा उपाध्यक्षमा । महासचिवमा अमेरिकाबाट गौरीराज जोशी र बेलायतबाट विनय अधिकारीले उम्मेदवारी दिनुभएको छ । सचिवमा अमेरिकाबाट शंकर खड्का, बेलायतबाट रामशरण सिंखडा, जापानबाट ओम गुरुङ, क्यानडाबाट चिरञ्जीवी घिमिरेले उम्मेदवारी दिनुभएको छ ।

महिला सचिवमा हङकङबाट राधिका गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ । महिला सह कोषाध्यक्षमा अमेरिकाबाट यमुना भट्टराईले उम्मेदवारी दर्ता दिनुभएको छ ।

 

 

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*