दुबाई(संयुक्त अरब इमिरेट्स), ८ चैत्र । संयुक्त अरब इमिरेट्स(युएई)को दुबाईमा भैरहेको आईसीसी क्रिकेट वर्ल्डकप लिग २ छनोट खेलमा नेपालले आज पपुवा न्यूगिनी(पीएनजी)लाई ७ विकेटले हराएको छ ।
नेपालका ब्याट्सम्यान कुशल भूर्तेल,आरिफ शेख र रोहित पौडेल चम्कदा नेपालले पपुवा न्युगिनीलाई शानदार ढंगले जितेको हो ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर फिल्डिड. रोजेको नेपाली टोलीले पपुवा न्युगिनीले दिएको १ सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर ७८ बल बाँकी रहदै हासिल गरेको थियो ।
नेपाललाई जिताउन कुशल भूर्तेलले ५०, आरिफ शेखले ५९ र रोहित पौडेलले ४४ रनको योगदान दिए । खेलमा आशिफ शेख २ रन बनाएर बोल्ड आउट भए भने दीपेन्द्रसिंह ऐरी खाता नखोली आउट भए ।
नेपाललाई रोक्ने क्रममा पपुवा न्युगिनीका चाल्र्स अमिनीले २ र कवुआ मोइराले १ विकेट लिए ।
यस पहिले टस हारेर व्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ५० ओभरको निर्धारित खेलमा ८ विकेट गुमाएर १ सय ७३ रन बनायो ।
उसका लागि क्याप्टेन असद भालाले सर्वाधिक ४५ रन बनाए । त्यस्तै चाल्र्स सोपरले २२, लिगा साइकाले २०,सेसे बौले १९,निर्मन भानुले १८,कवुआ मोइराले १७, टोनी उराले ६,सिमन अटलले २ र रिले हेकुरेले १ रनको योगदान दिए ।
पपुवा न्युगिनीलाई रोक्ने क्रममा नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने करण केसी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र पवन शरार्फले १–१ विकेट हात लिए ।
त्रिदेशीय श्रृखलाको समाप्तिपछि आईसीसी लिग २ छनोटका खेलमा नेपाल १२ खेलमा ६ जीत र समान हारसहित १२ अंक हासिल गर्दै छैठौं स्थानमा रहेको छ ।
समूहमा २७ खेलमा १८ जित र ९ हार सहित ३६ अंकसहित ओमान शीर्षमा छ । १८ खेलमा १० जित र ६ हारसहित युएई दोस्रो स्थानमा छ । १२ खेलमा ७ जित र ३ हार सहित १४ अंक पाएको स्कटल्याण्ड तेस्रो स्थानमा छ ।
१४ खेलमा ७ जित र समान हार ब्यहोरेको नामिबिया १४ अंकसहित चौथो स्थानमा छ भने १६ खेलमा ७ जित र ९ हार ब्यहोरेको अमेरिका १४ अंकसहित पाँचौ स्थानमा छ ।
१६ खेलमा एकमात्र जित हात पारेको पपुवा न्युगिनी २ अंकसहित अंकतालिकाको पुछारमा रहेको छ ।
यो समूहका उत्कृष्ट ३ टिमले सन २०२३ मा भारतमा हुने विश्वकपमा सहभागी हुने मौका पाउछन् । तेस्रो स्थानमा पुग्न नेपाली टिमले धेरै नै मिहेनत गर्नुपर्ने देखिन्छ ।