काठमाडौं, १० चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत्र १८ देखि २० सम्म भारत भ्रमण गर्नुहुने भएको छ ।
दैनिक काठमाडौं पोष्टले चीनका विदेश मन्त्री याड.यीको नेपाल भ्रमण समाप्त भए लगत्तै प्रधानमन्त्री देउवा भारत भ्रमण जानु हुने समाचार प्रकाशित गरेको छ ।
चीनका विदेश यी तीन दिवसीय भ्रमणमा मन्त्री भोलि काठमाडों आउदै हुनुहुन्छ ।
उहाँ आजदेखि भारतको भ्रमणमा हुनुहुन्छ ।
पहिलो औपचारिक विदेश भ्रमण छिमेकी मित्रराष्ट्र भारतबाट थालनी गर्ने तयारीमा रहनुभएका प्रधानमन्त्री देउवा यही चैत्र १६ देखि श्रीलंकाको राजधानी कोलम्बोमा हुने बिमस्टेक बैठकमा भर्चुअल माध्यमबाट जोडिनुहुने भएको छ ।
नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्काले बिमस्टेकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुने छ ।
बिमस्टेक बैठकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि जाने नजाने निधो भैसकेको छैन ।
नेपालका प्रधानमन्त्री देउवाको औपचारिक भारत भ्रमण सकिने बित्तिकै इजराइलका प्रधानमन्त्री नफताली बेनेटलाई चैत्र २० देखि २२ सम्म स्वागत गर्न दिल्ली आतुर रहेको छ ।
प्रधानमन्त्री देउवा चैत्र १८ गते दिल्ली उत्रिने, १९ गते भारतीय समकक्षीसंग वार्ता गर्ने र २० गते नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ ।
भ्रमणका अवधिमा कुर्था जयनगर रेल्वे समुद्घाटन गर्ने र भारतीय सहयोगमा १ सय ३७ वटा स्वास्थ्य चौकी निर्माण गर्ने समझदारी हुने बताइएको छ ।
प्रधानमन्त्री देउवा भारतको गुजराज समिटमा सहभागी हुन जाने क्रममा भारतको औपचारिक भ्रमणको तयारी भएको थियो तर कोरोना संक्रमण बढेर सो सम्मेलन रद्द भएकोले उहाँ भारत भ्रमण स्थगित गर्नुपरेको थियो ।
गत असार महिनामा प्रधानमन्त्री भएपछि देउवाले स्कटल्याण्डको ग्लास्गोमा भएको संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्मेलनका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग साइड लाईनमा भेटवार्ता भने गर्नुभएको थियो ।