धनगढी(कैलाली), १० चैत । नेपाली कांग्ररेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पाँच दलीय गठबन्धन तीनै तहको चुनावसम्म कायम रहने बताउनुभएको छ ।
प्रेस युुनियन कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रथम महिला समेत रहनुभएकी डा.देउवाले भन्नुभयो ‘गठबन्धन गरेर चुनावमा जाने हाम्रो सम्झौता छ । होमवर्क पनि त्यही रुपले भइरहेको छ । हामी गठबन्धनसहित इलेक्सनमा जाने हो ।’
महामन्त्री गगन थापालगायतका नेताहरूले सार्वजनिक रुपमा गठबन्धन नहुने बताइरहेको सन्दर्भमा उहाँले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले असहमति राख्न पाइने तर गठबन्धन कायम राख्ने कुरामा सबै एक मत भएको जवाफ दिनुभयो ।
नेकपा (एमाले) विभाज भएका बेला कांग्रेस एक्लै चुनावमा जान किन नसकेको भन्ने प्रश्नमा राणाले परिस्थिति त्यति सजिलो नभएको बताउदै भन्नुभयो, ‘राजनीतिक परस्थिति त्यति सजिलो छ र ? अन्तिमपटक भएको चुनावबाट आएको जनादेशले पनि हामीलाई मिलेर जादा देश अगाडि बढाउन सकिंदो रहेछ भन्ने कुरा सिकाएको छ ।’
राणाले प्रतिनिधि सभाको निर्वाचनमा आफू पुनः कैलाली क्षेत्रनम्बर ५ बाटै उम्मेदवारी दिने बताउँदै अन्य ठाउँबाट नलड्ने घोषणा गर्नुभयो । ‘बर्दिया, कञ्चनपुरबाट लड्ने भन्ने कुरा हल्लाहो । म पहिले पनि यहीबाट चुनाव लडेकाले फेरि यहीबाट लड्छु’ उहाँले भन्नुभयो, ‘सर्लाहीका साथीहरूले पनि आऊ भन्नुभएको छ । कोहलपुरका साथीहरूले पनि बोलाउनुभएको छ तर मैले ४र५ वर्षदेखि यही काम गरिरहेकाले कैलालीबाटै उम्मेदवारी दिन्छु ।’