काठमाडौं, १० चैत्र । नेपालको क श्रेणीको बाणिज्य बैंक मेगा बैंकले एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ।
मेगा बैंकले ‘बेष्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ जितेको छ भने मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड, २०२२’ जित्नुभएको छ।
सिंगापुरस्थित वल्र्ड बिजनेश आउटलुकका अनुसार, सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत नेपालको बिभिन्न सामाजिक क्षेत्रमा मेगा बैंकले उत्कृष्ट योगदान गरेबापत ‘वेष्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड, २०२२’ प्रदान गरिएको हो।
स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको मेगा बैंकले गत आर्थिक वर्ष १ करोड ३५ लाख कोभिडको रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रादेशिक कोषहरुमा उपलब्ध गराएको बैंकले जनाएको छ।
बैंकका अनुसार यस वर्ष संघीय, प्रादेशिक वा पालिकास्तरीय अस्पतालहरुको आकस्मिक कक्ष तथा बालकक्षको सुधार उपचारार्थ खर्च गर्ने नीति लिएको छ।
शिक्षामा बालिकाहरुको पहुँचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पुर्याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले ‘एक शाखा दुई छोरी’ कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ३ सय ९० जना छात्राहरुलाई वार्षिक रुपमा ४३ लाख रकम बराबरको छात्रवृति उपलब्ध गराएको छ।
यो छात्रवृतिले शाखा सञ्चालित वडा–पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने मेगा बैंकले ‘बैंक अफ दि इयर २०१९’ नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको थियो।
यसैगरी, नेपालको ‘क’ वर्गको वाणिज्य बैंकको प्रथम महिला सीईओको इतिहास बनाएकी अनुपमा खुञ्जेलीलाई मेगा बैंकको सफल नेतृत्व गरी नेपालको बैंकिङ क्षेत्रमा अतुलनीय योगदान गरेबापत ‘वुमन बैंकिङ सीईओ अफ दि एयर अवार्ड, २०२२’ प्रदान गरिएको वर्ल्ड बिजनेश आउटलुकले जनाएको छ।
नेपालबाट यो अवार्ड जित्ने बैंकमा मेगा बैंक पहिलो हो भने सीईओमा खुञ्जेली ।
सीईओ खुञ्जेलीले यसैवर्ष ‘बेस्ट फिमेल अवार्ड २०२१’ पनि प्राप्त गर्नुभएको थियो। उहाँकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो।
स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत वर्तमान सिईओ अनुपमासंग सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक लगायतका बाणिज्य बैंकमा ३० वर्ष काम गरेको अनुभव छ।
अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेपछि सीईओ खुञ्जेलीले गौरवान्वित महसुस गरेको बताउनुभएको छ।
उहाँले यसको श्रेय मेगा बैंकका संस्थापक, सर्वसाधारण सेयरधनी, ग्राहक, कर्मचारी एवं समस्त सरोकारवालाहरुमा जाने सीईओ खुञ्जेलीले बताउनुभएको छ।
स्थापनाको एक दशकमै २ सय ४ शाखा स्थापना गरी देशका विभिन्न भागमा सेवा दिइरहेको मेगा बैंक नेपालको स्थापित बैंकका रुपमा निरन्तर अगाडि बढीरहेको छ ।


















