काठमाडौं, ११ चैत्र । गैरआवासीय नेपाली संघको वैधानिक १० औ विश्व सम्मेलन तथा महाधिवेशन चैत्र १२ गतेबाट राजधानीमा सुरु हुने भएको छ ।
एनआरएनएका अध्यक्ष कुमार पन्तले दिनुभएको जानकारी अनुसार शनिवार अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा एनआरएनएको विश्व सम्मेलनको समुद्घाटन गर्नुहुने भएको छ ।
चुनावको पनि बाटो खुला
गैरआवासिय नेपालीहरुको विश्व संगठन फुटाउन प्रयासरत एक समूहले साम,दाम,दण्ड र भेदको नीति अपनाउदै वैधानिक कार्य समितिलाई विश्व सम्मेलन र निर्वाचन रोक्न गरेको षड्यन्त्रको पर्दा शुक्रबारबाटै गिरेको छ ।
वैधानिक संगठनको विश्व सम्मेलन र निर्वाचन रोक्न लगाएर विधान मिचेर अवैधानिक भेला आयोजना गरी त्यसैलाई विश्व सम्मेलनमा परिणत गरेर तथाकथित निर्वाचन गरेर एनआरएनएको वैधानिक समिति भएको दावी गर्र्ने व्यक्तिहरुको षड्यन्त्रको पर्दाफास भएपछि पाटन उच्च अदालतले निर्वाचन रोक्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएन ।
संघको वैधानिक समितिले यही चैत्र १० र ११ गते एनआरएनएको १० औं विश्व सम्मेलन र निर्वाचन तोकिएकोमा चिन्तामणि सापकोटा लगायतले गत चैत २ गते उक्त सम्मेलन र आगामी नेतृत्वका लागि हुन लागेको निर्वाचन रोक्न अन्तरिम आदेशको माग गर्दै पाटन उच्च अदालतमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि उच्च अदालत पाटनले चैत ७ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै चैत ९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । तर गोला प्रक्रियाबाट पेसी व्यवस्थापन हुँदा चैत ९ गते र चैत १० गते दुवै दिन उक्त मुद्दा हेर्न नमिल्ने न्यायाधीशको बेञ्चमा परेको थियो ।
तर यही बिचमा विश्वसम्मेलन रोक्न रीट दिनेहरुको समूहले पूूर्वअध्यक्ष शेष घलेसहितको संलग्नतामा होटल याक एण्ड यतिमा मुठ्ठीभर प्रतिनिधिहरु भेला गरेर तीनैलाई प्रतिनिधि मानेर विधान संशोधन गरेर हतारहतार निर्वाचन कार्यक्रम तय गरेर नयाँ कार्यसमितिको निर्वाचन गरेर विश्वभर छरिएर रहेका नेपालीको संस्था कब्जामा लिन खोजेको रहस्योद्घाटन भयो । यो यथार्थ अदालत समक्ष राखेपछि वैधानिक समितिलाई नै विश्व सम्मेलन आयोजना गरी नियमसंगत निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने बाटो खुलाउन अदालत तयार भएको हो ।
चैत ११ गते शुक्रबार नियमित पेसीमा चढ्दा उक्त रिटमा अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश दिइएको हो ।
शुक्रबार न्यायाधीशद्वय सुभाष पौडेल र नीलम पौडेलको संयुक्त इजलासले उक्त रिटमाथि अन्तरिम आदेश जारी नहुने आदेश दिएको हो ।
उक्त आदेशसँगै संघको निर्वाचन लगायतका गतिविधिका लागि बाटो खुलेको हो । संघले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्न चैत १२ र १३ गते विश्व सम्मेलन तथा निर्वाचन गर्दैछ ।


















