काठमाडौं, १२ चैत्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्युगिनी (पीएनजी)सँग दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्दैछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने नेपाल र पीएनजीबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।
पहिलो खेलमा मात्र ६ रनले पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा रहेको छ ।
आफ्नै घरेलु मैदानमा भएको खेलमा नेपाल जितको नतिजा निकाल्न आतुर रहेको छ । नेपालका कप्तान सन्दीप लामिछानेले आजको खेलमा जित निकाल्ने योजना भएको बताएका छन् ।
शुक्रबार पीएनजीविरुद्धको खेलपछि पत्रकारसँगको कुराकानीमा उनले आजको खेलमा जित निकाल्दै दर्शकहरुलाई खुसी दिलाउने बताए ।
आईसीसी विश्वकप डिभिजन लिग २ अन्तर्गत हाले युएईमा भएको प्रतिस्पर्धामा नेपालले दुवै खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको थियो ।
यूएईमा नेपालले पहिलो खेलमा २ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो ।
नेपाली खेलाडीहरुको धेरै खेल टी २० फर्मेटमा हुने गरेकोले नेपाली ब्याट्सम्यानहरु खेलको सुरुमा नै रन जोड्न चौका र छक्कातिर केन्द्रित हुन्छन् । कमजोर बललाई चौका र छक्काको निशाना बनाउदा ओपनर र शीर्ष क्रमका ब्याट्सम्यानहरु क्याच आउट पर्ने गरेका छन् । खेलमा ओपनर कुशल भूर्तेलको प्रदर्शन हावाहुरी जस्तो देखिदै आएको छ । कहिले उनले हाफ सेन्चुरीमाथिको योगफल तयार पार्छन त कहिले शुरुमै मैदान छोड्न बाध्य हुन्छन् ।
एक दिवसीय खेलमा दीगो खेल्न ब्याट्सम्यानहरुले रोहित पौडेलको सिको गर्न जरुरी छ । उनी चौका र छक्कामा हतार गर्दैनन् तर मौका परे बनाउन छोड्दैनन् पनि । मैदानमा टिक्ने उनको कलाले शुक्रबार उनको व्यक्तिगत क्यारियर नेपाली राष्ट्रिय टिमको प्रदर्शनलाई पनि उकासेको थियो ।
नेपाली बलरहरुको गति पनि एक दिवसीय खेलमा उल्टो गतिको देखिदै आएको छ । बलरहरुले आफ्नो क्षमता पहिले देखाउनु पर्दछ । यसो गर्दा शीर्ष तहका ब्याट्सम्यानहरु चाडो बाहिरिन्छन र विपक्षी टिमले ठुलो योगफल बनाउन सक्दैन । तर नेपाली बलरहरुको केही यताका खेल हेर्दा उनीहरुले पछिल्ला ओभरमा विकेट झारेका छन् । यसले खेलाडीलाई विकेट लिएको अभिलेखमा असर नपारे पनि खेलको नजितामा भने पार्छ । मानो कुनै बलरले खेलको पहिलो बलमा ओपनर ब्याट्सम्यानलाई आउट गर्यो भने उसले पूरै खेल गुमाउछ । तर अन्तिम ओभरको अन्तिम बलको विकेट लियो भने त्यो ब्याट्सम्यानले पुरै खेल खेलिसकेको हुन्छ । बलरको पक्षलाई जति अघिल्ला ओभरमा विकेट लियो त्यति फाइदा पुग्छ ।
नेपालले आगामी मेमा आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकामा सिरिज खेल्दैछ । त्यसैका लागि यो सिरिजलाई फोकस गरेको छ । नेपालले पीएनजीसँग एकदिवसीय सिरिज लगत्तै नेपाल र पीएनजीले मलेसियासँग त्रिदेशीय टी ट्वान्टी प्रतियोगिता खेल्नेछन् ।


















