सानेपा(ललितपुर), १३ चैत्र । स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी सिट जित्नको लागि भन्दै नेपाली कांग्रेसले चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्ने तयारी गरेको छ ।
काठमाडौंमा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा बहुसंख्यक सदस्यहरूले तालमेल गरेर जानुपर्ने धारणा राखेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
कांग्रेसले चुनावी तालमेललाई ‘आवश्यकताको सिद्धान्त’ भनेको छ ।
प्रवक्ता डा. महतले गठबन्धनबारे औपचारिक निर्णय नभए पनि धेरै सिट जित्नको लागि तालमेलको सम्भावना रहेको बताउनुभएको छ ।
‘आवश्यकताको सिद्धान्तलाई मध्यनजर राखेर निर्णय हुन्छ, जसरी जाँदा बढीभन्दा बढी सिट जितिन्छ, धेरै सिट जित्ने नेपाली कांग्रेसको लक्ष्यअनुसार निर्णय हुन्छ,’ महतले आइतवारको बैठकपछि भन्नुभयो ।
चुनावमा जाने कुरा भावनाको विषय मात्र नभएकोले कतिपय स्थानमा गठबन्धन गर्नुपर्ने उहाँले बताउनुभयो ।
‘वैशाख ३० को स्थानीय तहको निर्वाचनमा कसरी जाने भन्नेबारे केन्द्रीय सदस्यहरूले सुझाव सल्लाह दिनुभएको छ । धेरै साथीहरू गठबन्धनको आवश्यकता छ भन्ने कुरा भन्नुभएको छ,’ प्रवक्ता डा. महतले भन्नुभयो, ‘निर्वाचनमा जाने भावनाको विषय मात्र होइन, बढीभन्दा बढी सफलता हासिल गर्नको लागि जाने हो । कतिपय स्थानमा गठबन्धन गरेर जानुपर्छ भन्ने मत छ । भोलिसम्म सबैले बोलेपछि कस्तो खाले ढाँचामा जान्छौँ भन्ने निर्णय हुन्छ ।’
महतले कुन ढाँचामा तालमेल गर्ने भन्नेबारे छलफल हुन बाँकी रहेको बताउनुभयो ।
‘महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा कसरी जाने भन्ने निर्णय हुन बाँकी छ । गठबन्धनमा जाने नजाने रणनीतिक विषय हो, के गर्दा फाइदा हुन्छ, त्यहीअनुसार निर्णय हुन्छ । नेतृत्वले केन्द्रमा निर्णय गरेर लाद्न खोजेको भन्ने कुरामा कुनै सत्यता छैन,’ महतले भन्नुभयो।


















