कुपण्डोल(ललितपुर), १३ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गैरआवासीय नेपालीहरुको लगानीलाई आशंकाको दृष्टिले हेर्न नहुने बताउनुभएको छ ।
गैर आवासीय नेपाली संघको १० औं विश्व सम्मेलनलाई संबोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले नेपालमा पूर्वाधार क्षेत्रमा आन्तरिक लगानीमात्र पर्याप्त नभएकोले बाह्य लगानी आवश्यक रहेको बताउनुभयो।
‘आन्तरिक स्रोत परिचालनले मात्रै पूर्वाधारको विकास गर्न सकिँदैन,’ महामन्त्री थापाले भन्नुभयो, ‘बाह्य लगानी भित्र्याउनुपर्छ।’
उहाँले पूर्वाधारका लागि अहिले स्रोत अभाव रहेको पनि बताउनुभयो। उहाँले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न सहज वातावरण बनार्ईदिनुपर्ने पनि बताउनुभयो ।
अबको एक दशक पूर्वाधारका क्षेत्रमा ठूलो लगानी चाहिने आवश्यक पर्ने थापाले बताउनुभयो।
उहाँले नेपालको कृषि बजारमुखी हुने र मानिसहरूलाई बाहिर पठाउनाले पनि अर्थतन्त्रमा असर परिरहेको बताउनुभयो।
उहाँले पूर्वाधारसँगै शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा पनि विकास गर्नुपर्ने बताउनुभयो।


















