कीर्तिपुर(काठमाडौं), १९ चैत्र । नेपाल, मलेशिया र पपुवा न्युगिनीबीच नेपालमा भइरहेको त्रिकोणात्मक टी २० शृंखला अन्तर्गतको शनिबारको खेलमा नेपालले मलेसियालाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले टस हारेर ब्याटिड. गरेको नेपालले दिएको २ सय २४ रनको लक्ष्य मलेशियाले हासिल गर्न सकेन ।
२०ओभरको खेलमा १९.५ ओभरमा अल आउट हुँदै उसले १ सय ३८रनमात्र जोड्न सक्यो ।
मलेशियाका लागि भिरनदीपले ४७, अहमद फैजले ३३, ऐनूल हाफिजले १८, सैयद अजिजले १७, मोहम्मद स्याहदतले ८,पवनदीप सिंहले ४ र एस मुनिएण्डी,मोहम्मद वाकिफ र मोहम्मद अमिरले एकएक रनको योगदान दिए ।
मलेशियालाई रोक्ने क्रममा नेपालका क्याप्टेन सन्दीप लामिछानेले ३ तथा कमल ऐरी र दीपेन्द्र सिंह ऐरीले २।२ तथा कुशल भूर्तेल र रोहित पौडेलले एक एक विकेट लिए ,
यस अगाडि टस हारेर ब्याटिड.गरेको नेपालले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा २ सय २३ रन जोडेको थियो । नेपालका लागि दीपेन्द्रले ५७ बल खेल्दै १० चौका र ६ छक्का मद्दतमा अविजित १ सय १० रन बनाए ।
यस्तै रोहित पौडेलले पहिल टी(२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरे । रोहितले ३४ बल खेल्दै ५ चौका मद्दतमा ५१ रन बनाए ।
दीपेन्द्र र रोहितले तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए ।
ओपनर आसिफ शेखले १८ र कुशल भुर्तेलले १२ रन बनाए । आरिफ शेख २ रन बनाएर आउट भए ।
आदिल अन्सारीले १४ रन जोडे । अन्तिम बलमा आदिल रनआउट हुनुअघि दीपेन्द्रसँग ५९ रनको साझेदारी गरे ।
नेपाललाई रोक्ने क्रममा मलेसियाका मुहम्मद वाकिफ, पवनदिप सिंह, स्याज्रुल ईद्रुस र मुहम्मद अमिरले १ । १ विकेट लिए ।
टी२० अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो ठूलो स्कोर हो । यसअघि नेपालले गत वैशाखमा त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्स विरुद्ध २ सय ३८ र २०१९ मा त्रिवि क्रिकेट मैदानमा नै १३औं सागमा भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो ।
दीपेन्द्र ओडीआई र टी २० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बने ।
पूर्वकप्तान पारस खड्काले दुवै फर्म्याटमा शतक प्रहार गरेका थिए ।


















