नयाँदिल्ली(भारत), १९ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले सयुक्त रुपमा सोलु करिडोरको प्रसारण लाईन कुर्था जनकपुर जयनगर रेल्वे र अन्तर्राष्ट्रिय भुक्तानी सेवा रु पेको उद्घाटन गर्नुभएको छ ।
शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले १३२ केभीको ९० किलोमिटर लामो प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो।
सोलु करिडोर विद्युत् प्रसारण लाइन सोलुखुम्बुमा उत्पादित जलविद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न भारतको निर्यात आयात बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा बनाइएको हो ।

सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको टिड.लास्थित सबस्टेसनसम्म ३ सय २ वटा टावरसहित सोलु करिडोर १३२ केभी प्रसारण लाइन निर्माण गरिएको हो ।
रेल्वेको उद्घाट्न
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुर जयनगर रेल सेवा उद्घाटन गरेका छन् ।
नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट शनिबार देउवा र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि नेपाली रेल गुडेको हो ।

उद्घाटनसँगै रेल नियमित रूपमा चल्ने भएको छ । भारतको ठूलो जक्सन जयनगरदेखि नेपालको पूर्वपश्चिम राजमार्गको बर्दिवासमा जोडिएको ब्रोडगेज रेल्वेअन्तर्गत उद्घाटनपछि रेलले हाल जयनगरदेखि कुर्थासम्म यात्रु ओसार्ने काम नियमित हुनेछ ।
अनलाइन प्रविधिबाट रेलको टिकट उपलब्ध गराउने व्यवस्था गरिएको छ । टिकटमा क्यूआर कोड हुनेछ । रेलमा यात्रा गर्ने यात्रुको टिकट अनलाइनबाटै जाँच गर्ने उपकरण टीटीलाई उपलब्ध गराइएको छ । आइतबारदेखि रेल बिहान र दिउँसो दुई पटक यात्रु लिएर जयनगर–कुर्था खण्डमा चल्नेछ ।
रेलमा सिटमा बसेर र उभिएर यात्रा गर्ने व्यवस्था पनि मिलाइएको रेलवे कम्पनीले जनाएको छ । जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा कायम गरेको छ ।
एसी सिटका लागि भने जनकपुर–जयनगर ३५० र कुर्था–जयनगर ४५० रुपैयाँ भाडा कायम गरिएको जनाइएको छ । रेल चलाउनका लागि २६ जना भारतीय प्राविधिक कर्मचारी आइसकेका छन् । पहिलो चरणमा अहिले ५९ नेपाली कर्मचारी राखिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताउनुभएको छ ।
२०७७ असोजमा दुवै रेल सेट भारतबाट जनकपुर ल्याइएको थियो । लामो समयसम्म रेल पालले छोपेर राखिएको थियो । गत फागुन १ बाट ड्राई रन’ थालिएको हो। २०७६ वैशाख २७ मा भारत सरकारसँग रेल खरिदसम्बन्धी सम्झौता भएको थियो। भारतीय रेलवे कम्पनी कोंकणले दुवै रेल सेट ८४ करोड ६५ लाख रुपैयाँमा तयार गरेर दिएको हो।
‘रुपे’ डिजिटल कार्डको शुभारम्भ
![]()
भारत सरकारले चलनमा ल्याएको ‘रुपे’ डिजिटल कार्ड नेपालमा प्रयोगको शुभारम्भ भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलमा यसको उद्घाटन गरेका हुन् ।
भारतको ‘नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)’ मा आबद्ध भएको ‘रुपे’ भारत आफैंले विकास गरेको हो ।
‘भिसा’ र ‘मास्टर कार्ड’ जस्तै उक्त कार्ड भारतका बैंकहरूले चलाउन थालेका छन् । त्यस कार्डलाई अब नेपालको बैंकसँग पनि जोड्न सकिने भएको छ ।
‘रुपे’ कार्डबाट नेपालमा पनि भुक्तानीको सुविधा पाइनेछ ।


















