नयाँदिल्ली(भारत) १९ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादको कुरा उठाएको बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले सीमा विषयलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आफूले समकक्षी नरेन्द्र मोदीलाई आग्रह गरेको बताउनुभएको छ।
हैदराबाद हाउसमा शनिबार भएको द्विपक्षीय भेटवार्तापछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भन्नुभयो,‘हामी (देउवा र मोदी ले सीमा विषयका बारेमा छलफल गर्यौं । र, मैले मोदीजीलाई यो विषय द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह गरेका छु ।ु
नेपाल र भारतबीच पछिल्लो समय सीमा विवादका कारणले गर्दा समस्या भइरहेको छ । दुई मुलुकबीच सीमा समस्या समाधानको लागि पटक–पटक पहल भए पनि अघि बढ्न सकेको छैन ।
सन् २०१४ मा मोदीकै नेपाल भ्रमणका दौरानमा सबैभन्दा बढी विवादमा रहेको कालापानी क्षेत्र र सुस्ता क्षेत्रका लागि वार्ता गर्नको लागि परराष्ट्र सचिवस्तरीय संयन्त्र बनेको थियो । जसको अहिलेसम्म बैठक बनेको छैन ।
भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा हुँदै तिब्बतको मानसरोवर जाने सडक बनाएपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध चिसिएको थियो । केही समयअघि मात्रै भारतीय प्रधानमन्त्री मोदीले उक्त सडक विस्तार भैरहेको जानकारी दिएपछि समस्या झन जटिल भएको थियो ।
थप ३ वटा हवाई रुट उपलब्ध गराउन माग
भेटवार्ताका अवसरमा प्रधानमन्त्री देउवाले भारतसमक्ष थप तीन वटा हवाई रुट उपलब्ध गराउन माग पनि गरिएको जानकारी दिनुभएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्वीपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उहाँले भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषयमा कुराकानी भएको बताउनुभयो ।
‘हामीले नागरिक उड्डयनको विषयमा पनि छलफल गरेका छौं । हामीले नेपालको आग्रहअनुसारको नेपाल प्रवेशको थप हवाईमार्ग माग गरेका छौं । महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट माग गरेका छौं । भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि सहयोगका लागि आग्रह गरेका छौं,’ देउवाले भन्नुभयो ।
पञ्चेश्वर गेम चेञ्जर ?
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर बहुउद्देशीय जलविद्युत् परियोजना ऊर्जा क्षेत्रका लागि गेमचेन्जर हुने बताउनुभएको छ। उहाँले पञ्चेश्वर परियोजनालाई अगाडि बढाउने र त्यसको महत्वमा जोड दिएको बताउनुभयो ।
ुऊर्जा सहकार्यमा हाम्रो संयुक्त दृष्टिकोण आपसी सहयोगको ब्लुप्रिन्ट सावित हुनेछ । हामीले पञ्चेश्वर परियोजनामा तीव्र गतिले अगाडि बढ्ने र त्यसको महत्त्वमा जोड दिएका छौं । यो परियोजना यो क्षेत्रको विकासका लागि एक गेमचेन्जर सिद्ध हुनेछ ।ु भारतीय प्रधानमन्त्री मोदीले भन्नुभएको छ ।
नेपालको जलविद्युत् विकासमा भारतीय कम्पनीहरूलाई अझै बढी सहभागी गराउन देउवा र आफूबीच सहमति भएको मोदीले उल्लेख गर्नुभएको छ ।
नेपालले आफूलाई बढी भएको विद्युत् भारतमा निर्यात गरिरहेकोमा मोदीले प्रसन्नता व्यक्त गर्दै त्यसले नेपालको आर्थिक प्रगतिमा राम्रो योगदान हुने विश्वास व्यक्त गर्नुभएको छ।
पछिल्लो तीन दशकदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा समेत राखेको छ ।
पछिल्ला वर्षहरूमा परियोजनामा ठोस प्रगति भएको छैन । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) टुंग्याउने विषयलाई पञ्चेश्वरमा अहिले देखिएको सबैभन्दा जटिल समस्या ठानिएको छ ।
नेपालको जल तथा ऊर्जा आयोगका सचिव र भारतको ऊर्जा आयोगका सचिव रहने विज्ञ समूह (टिम अफ एक्सपर्ट)ले पञ्चेश्वरको डीपीआर टुंग्याउने जिम्मा पाएको छ ।
तर सन् २०१९ फेब्रुअरीयता विज्ञ समूहको बैठक बस्न सकेको छैन । डीपीआर टुंग्याउन अघिल्लो पटक दिइएको समयसीमा गुजारेपछि विज्ञ समूहलाई थप एक वर्ष समय दिइएको थियो ।
२०१९ नोभेम्बर २९ मा भारतमा बसेको प्राधिकरणको सञ्चालक समितिस्तरीय ‘जोइन्ट गभर्निङ बडी’ ले समयावधि लम्ब्याएर २०२० नोभेम्बरसम्म बनाए पनि यसबीचमा एउटा पनि बैठक बसेन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध विश्वमा कतै नभएको पनि दावी गर्नुभएको छ ।
शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको सभ्यता, संस्कृति र आदानप्रदानको धागो प्राचीन कालबाटै जोडिएको बताउनुभएको हो ।
पत्रकार सम्मेलनमा मोदीले भन्नुभयो, “भारत र नेपालबीचको मित्रता, हाम्रा नागरिकबीचको सम्बन्धजस्तो उदाहरण विश्वमै कहीँ देख्न पाइँदैन ।”
मोदीले सम्बोधनका क्रममा अगाडि भने, ुअनादिकालदेखि हामी एक अर्काका सुख(दुस्खका साथी रहेका छौँ ।ु
यसअघि दुवै देशका प्रधानमन्त्रीले जयनगर(कुर्था रेल, सोलु करिडोर प्रसारण लाइन, डिजिटल भुक्तानी ुरुपेु उद्घाटन गरेका थिए ।


















