काठमाडौं, २० चैत्र । सङ्खुवासभाको अरुण ३ जलविद्युत् परियोजनाको पहुँच मार्गअन्तर्गत छ्याङ्गकुटी-दिदिङ (0-२४ किमी) खण्डअन्तर्गतको छुट मुआब्जा उपलब्ध गराइने भएको छ ।
छुट मुआब्जा उपलब्ध गराउने निर्णय बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको हो । यसअघि मुआब्जा नपाएका तर लगत कट्टा भई सरकारी स्वामित्व कायम भएका जग्गा र यसअघि मुआब्जा वितरण वा निर्धारण भएकोभन्दा बढी जग्गा लगत कट्टा भई सरकारी स्वामित्व कायम भएको जग्गालाई जग्गाप्राप्ति ऐन, २०३४ बमोजिम मुआब्जा वितरण गर्न गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको हो ।
उक्त निर्णयसँगै अब मुआब्जा लिन बाँकी रहेकाले मुआब्जा पाउने भएका छन् ।
बारम्बारको अवरोध हट्ने आशा
प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै बारम्बार सडक बन्द गरेर आन्दोलन गर्दै आएका थिए।
सरकारको यो निर्णयपछि निर्माण अवरोध हट्ने विश्वास आयोजनाका निर्माताहरुले लिएका छन् ।
अरुण तेस्रो परियोजनाको करिब ५० प्रतिशतमाथि काम भइसक्दा पनि मुआब्जा नपाएपछि स्थानीयवासीले चैत ८ गतेबाट प्रवेशमार्ग र पावरहाउसको काम सडक अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका थिए ।
सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डको मुआब्जा तीन वर्ष बित्दासमेत नपाएपछि बाध्य भएर प्रवेशमार्ग र आयोजनाको पावरहाउसको काम अवरुद्ध बनाएको संघर्ष समितिका अध्यक्ष हर्कसिंह राईले बताउनुभएको थियो ।
उहाँले पहिले १५ मिटरको मुआब्जा दिएर आयोजनाले अहिले ३० मिटर जग्गा अधिग्रहण गरेको बताउनुभयो ।
प्रवेशमार्गका स्थानीयवासीले भौतिक निर्माणका काम बन्द गरेका थिए । अरुण तेस्रो आयोजनामा छ्याङकुटीबाट पावरहाउसस्थल दिदिङसम्मको मुआब्जाको बारमो केही वर्षदेखि विवाद कायम रहिआएको छ । यो खण्डमा सरकारी मूल्यअनुसार मुआब्जाको रकम नदिएपछि स्थानीयवासीले सडक र काम ठप्प बनाएका हुन् । यस क्षेत्रका करिब २ सय परिवारले मुआब्जा नपाएको गुनासो छ ।
आयोजनाको पावरहाउस पुखुवामा भारतको पटेल इञ्जीनियरिङ कन्सल्टेन्सी कम्पनीले काम गरिरहेको छ । छयाङकुटी–पुखुवा मुआब्जा सङ्घर्ष समिति र अरुण तेस्रो सरोकार समितिले यसअघि नै पटक–पटक मुआब्जाका विषयमा सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको उनीहरूले बताए ।
छयाङकुटी–पुखुवा सडकखण्ड २८.५ किमी रहेको छ ।
कूल रु १ खर्ब ४४ अर्ब लागत निर्माण भइरहेको आयोजनाको काम सन् २०२४ मा उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । अरुण तेस्रो जलविद्युत्को निर्माणको काम भारतीय सतलज जलविद्युत् निगम (एसजेभिएन)ले गरिरहेको छ ।
मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा अरुण तेस्रो बाँधस्थल र चिचिला गाउँपालिका–२ दिदिङ पुखुवामा पावरहाउस निर्माण भइरहेको छ । यी दुई कम्पनीमार्फत अन्य २० भन्दा बढी साना निर्माण कम्पनीले काम गरिरहेको आयोजनाले जनाएको छ । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित ३ हजारभन्दा बढी मजदुर कार्यरत छन् ।


















