काठमाडौँ, २० चैत्र। कमिशन बढाउने माग राख्दै पेट्रोलियम कारोबार स्थगित गरेका पेट्रोलियम ब्यवसायीले आफ्नो आन्दोलन स्थगित गरेका छन् ।
आयल निगम र पेट्रोलियम व्यवसायीबीच शनिवार चार बुँदे सहमति भएपछि व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर पेट्रोलियम कारोबार पूर्ववत रुपमा संचालन गर्ने भएका छन्।
शनिबार साँझ टेकुमा रहेको निगमको कार्यालयमा निगम र व्यवसायीका प्रतिनिधिहरुबीच वार्ता भएको थियो।
वार्तापछि भएको सहमतिमा पेट्रोलियम पदार्थको कमिशन बृद्धि र ग्यास ढुवानीको भाडा समायोजनको विषय ७ दिन भित्र टुग्याउने, ब्यवसायीका अन्य मागहरु जेठ १५ सम्म सम्बोधन गर्ने, व्यबसायीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएर पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति यथावत सञ्चालन गर्ने, सम्पूर्ण पेट्रोल पम्पहरु आइतबार बिहानदेखि नै सञ्चालन गर्ने र गर्मी लागेकोले अत्यधिक प्रज्जवलनशील पेट्रोलियम पदार्थको अधिक सञ्चिती नगर्न उपभोक्तालाई अनुरोध गर्ने विषय समेटिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष डा. गणेश पाण्डेलाई यो समस्या तत्काल समाधान गर्न कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउनुभएका गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएपछि शनिवार साँझ ५ बजे निगमको कार्यालय टेकुमा भएको वार्ताबाट समाधान निस्किएको थियो।
साँझको वार्ता अघि नेपाल पेट्रोलियम समन्वय समितिको शनिबार विहान बैठक बसेको थियो। त्यो बैठकमा आपूर्ति असहज हुँदा सरकार आलोचित हुने भन्दै व्यवसायीकाबीच हड्तालका कार्यक्रम फिर्ता लिने मोटामोटी सहमति भएको थियो।
अहिले पेट्रोलियम व्यवसायीको छाता संगठनमा नेपाली कांग्रेस निकट व्यवसायी भएकोले समाधान खोज्न सरकारलाई सहज भएको बताइएको छ । नेपाल ग्यास उद्योग संघका अध्यक्ष कुश मल्ली गृहमन्त्री खाँण निकट रहेको बताइन्छ भने नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान काग्रेस नेता प्रकाशमान सिंह निकट । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोरा प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुनुहुन्छ।
पेट्रोलियम पदार्थको व्यवसायमा संलग्न संगठनको नेतृत्व कांग्रेस निकट भएकै कारण समाधान सहज भएको हो।
ब्यवासायीहरुले ग्यासको पीडीओ उठाउन बन्द गरेर आइतबारदेखि भने ग्यास र पेट्रोलियम पदार्थको बिक्री वितरण समेत बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेपछि शुक्रबारदेखि नै उपत्यका लगायत देशभर पेट्रोल पम्पमा सवारी साधनको लाइन थियो।
नेपाल आयल निगमका अध्यक्ष पाण्डे तथा कार्यकारी निर्देशक उमेशप्रसाद थानीको सुझबुझपूर्ण निर्णय र ब्यवसायीहरुको लचकताले पेट्रोलियम पदार्थको आपूर्तिमा आउन लागेको संकटको समाधान हुन गएको छ ।


















