Prakash Adhikari April 8, 2022

 

काठमाडौँ, २५ चैत्र  । बाढी पहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाबाट पानी काठमाडौं ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ ।

गत असार र साउनको बाढी र पहिरोले क्षतिग्रस्त आयोजना क्षेत्रको सफाइ र मर्मतका काम सकिएसँगै मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाउने अन्तिम तयारी भएको हो ।

गत असार १ र साउन १७ गते सिन्धुपाल्चोकको भेर्माड.थानमा गएको पहिरोले मेलम्ची खोलामा बाढी आउदा आयोजनाका संरचना क्षतिग्रस्त बनेका थिए ।

नेपाल सरकारले मेलम्ची खानेपानी आयोजनाबाट यही चैत मसान्तभित्र पानी काठमाडौंमा ल्याउने गर्ने लक्ष्य लिएको छ ।

आयोजनाका प्रमुख कार्यकारी निर्देशक वासुदेव पौड्यालले क्षतिग्रस्त आयोजनाको सफाइ तथा मर्मतको काम पूरा भई पानी पथान्तरणको तयारी भइरहेको जानकारी दिनुभयो ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारले तोकेको समयसीमाभित्र पानी काठमाडौँ ल्याउने गरी कार्ययोजना बनाउनुभएको थियो । उहाँले त्यसअनुरूप काम भए नभएबारे पटक–पटक स्थलगत निरीक्षण गर्दै आउनुभएको छ ।

मेलम्ची खानेपानी आयोजना विकास समितिका वरिष्ठ इन्जिनियरसहित डेढ दर्जनभन्दा बढी प्राविधिक टोली आयोजना क्षेत्रमा खटिएका छन् ।

आयोजनाको मुख्यद्वारमा थुप्रिएको गेग्य्रान र ठूला चट्टान हटाएर सुरुङ मार्गको सफाइपछि पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाउने तयारी लगभग सकिएको छ ।

मेलम्ची खोलाको पानी २७ किलोमिटर सुरुङमार्ग हुँदै दैनिक १७ करोड लिटर उपत्यकामा ल्याइने छ ।

आयोजनाका बाधस्थलको प्रवेशद्धार ‘वफर ड्याम’देखि अम्बाथानसम्मको ८०५ मिटर सुरुङमार्गभित्र जम्मा भएको लेदो सफाइ गरी सुरुङ प्रवेश गर्ने मुख्य ढोका खोलिएको छ ।

बाहिरी भागमा थुप्रिएका ठूला चट्टान नेपाली सेनाको विशेष टोलीले विस्फोट गरी हटाएको छ ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर पदम कुँवरले पूर्वअनुमान गरेभन्दा धेरै क्षति गरेको पाइएकाले चैतको दोस्रो सातासम्म काठमाडौँ पानी पु¥याउने लक्ष्यमा केही ढिलाइ भएको बताउनुभयो ।

उहाँले चैत मसान्तभित्रै पानी काठमाडौंमा पुर्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

Share Now

Leave a comment.