Prakash Adhikari April 9, 2022

काठमाडौं, २६ चैत्र । मुलुक स्थानीय तहको निर्वाचनको चरणमा प्रवेश गरेको छ । सरकारले आगामी बैशाख ३० गते देशभरका ७ सय ५३ वटै स्थानीय तहमा एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन आयोगले यस पहिले नै जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिता आजदेखि लागू हुने घोषणा गरेको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन स्थानीय तह निर्वाचन २०७९ देखि कार्यान्वयन गर्नेगरी सबै राजनीतिक दल र सरोकारवालाहरुको सुझाव तथा परामर्शको आधारमा स्विकृत गरिएको निर्वाचन आचारसंहिता आजैका मितिदेखि लागू गर्ने निर्णय गरिएको जानकारी दिनुभएको हो।

शुक्रबार अपरान्ह आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले निर्वाचनको प्रक्रियालाई तत्काल प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै पनि विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालका प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री सेयर गर्न नहुने तथा समाजिक सञ्जालमा गलत, भ्रामक सूचना प्रवाह गर्न र गराउन वा झुटा साईट, एकाउन्ट सञ्चालन गर्न वा गराउन नहुनुका अतिरिक्त कसैको चरित्र हत्या गर्ने गरी कुनै पनि प्रकारको प्रचार सामग्री प्रकाशन तथा प्रशारण गर्न निषेध गरिएको स्पष्ट पार्नुभयो।

‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सबै राजनीतिक दल र सरोकारवालाहरुको सुझाव तथा परामर्शमा स्वीकृत गरिएको निर्वाचन आचारसंहिता आजदेखि लागू हुनेगरी आयोगबाट निर्णय भएको छ’, शर्माले भन्नुभयो, ‘आचारसंहितामा गलत, भ्रामक सूचना सामाजिक सञ्जालबाट प्रयोग नगर्न पनि सचेत गराइएको छ। निर्वाचन आचारसंहितको प्रतिकूल प्रभावपार्ने खालका कुनै पनि सामग्री उत्पादन र प्रकाशन तथा प्रशारण गर्न पनि निषेध गरिएको छ।’

आयोगले मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्याशाला वा गोष्ठी नगर्न पनि राजनीतिक दल, उम्मेदवार र अन्य सरोकारवालाहरुलाई सचेत गराएको छ।

त्यस अवधिमा मादक पदार्थको विक्री वितरणमा समेत पूर्ण रुपमा निषेध गरिएको पनि आयोगका प्रवक्ता पौडेलले बताउनुभयो।

‘मौन अवधिमा निर्वाचन प्रचारप्रसारलगायतका कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला वा गोष्ठी गर्न नहुने, कुनै पनि विधि, प्रक्रिया र माध्यामबाट मत माग्न वा निर्वाचन प्रचार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै पनि माध्यामबाट पोष्ट वा सेयर गर्न नहुने साथै स्थानीय तह निर्वाचन निर्देशिकाले व्यवस्था गरे बमोजिम यस अवधिमा मादक पदार्थको विक्री वितरण तथा सेवन गर्ने कार्यलाई पूर्ण रुपमा निषेध गरिएको छ।’, उहाँले भन्नुभयो ।

पूर्णपाठको लागि तल क्लिक गर्नुहोस् :

स्थानीय तह निर्वाचन आचार संहिता, २०७८

 

Share Now

Leave a comment.