Prakash Adhikari April 10, 2022

इस्लामावाद(पाकिस्तान), २७ चैत्र । पाकिस्तानको नेशनल एसेम्ब्लीले प्रधानमन्त्री इमरान ख़ानविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित गरेको छ ।

शनिवार अबेर राति भएको अविश्वासको प्रस्तावमाथिको मतदानमा १ सय ७४ सांसदले खान विरुद्धको अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

प्रधानमन्त्री इमरान ख़ानले आफूलाई हटाउन अमेरिकी नेतृृत्वमा षड्यन्त्र गरिएको दावी गर्दै आउनुभएको छ ।

पाकिस्तानको राजनीतिक इतिहासमा संसदमा अविश्वासको प्रस्तावबाट प्रधानमन्त्री हटाइएको यो पहिलो घटना मानिएको छ ।

अब सोमवार बस्ने पाकिस्तान नेशनल एसेम्ब्लीको बैठकले नयाँ प्रधानमन्त्री चयन गर्ने बताइएको छ । नयाँ प्रधानमन्त्रीले आगामी २०२३ को अक्टोबरसम्म सरकार चलाउन पाउने छन् ।

नेशनल एसेम्ब्लीमा अविश्वास प्रस्ताव पारित भएपछि पाकिस्तान मुस्लिम लिग नवाजका अध्यक्ष शाहबाज़ शरीफ़ले पाकिस्तानमा संविधान र कानूनी शासनको पुनबहालीको प्रक्रिया सुरु भएको बताउनुभयो ।

उहाँले कसैसंग बदलाको भावना नराखिने तर क़ानून अनुरुप काम हुने बताउनुभयो ।

अविश्वासको प्रस्ताव पारित भएपछि पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीले पाकिस्तानमा १० अप्रैलको ऐतिहासिक महत्व भएको बताउनुभयो ।

उहाँले  बैठकलाई १० अप्रिल १९७३ मा संसदले संविधान पारित गरेको स्मरण गराउनुभयो । । उहाँले भन्नुभयो, “पुरानो पाकिस्तानमा तपाईहरु सबैलाई स्वागत छ ”

अविश्वासको प्रस्ताव पारित हुनेवित्तिकै पाकिस्तानका महान्यायाधिवक्ता ख़ालिद जावेद ख़ानले राजिनामा दिनुभएको छ ।

शनिवार अविश्वासको प्रस्तावमा मतदान हुनुपहिले नेशनल एसेम्ब्लीका अध्यक्ष असद कैसरले आफ्नो पदबाट राजिनामा दिनुभएको थियो ।

उहाँले प्रधानमन्त्री खानविरुद्ध आएको अविश्वासको प्रस्ताव विदेशी षड्यन्त्रमा आएको भन्दै रद्द गर्नुभएको थियो ।

सो प्रस्ताव रद्द भएपछि प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्नुभयो भने विपक्षी दल नेशनल एसेम्ब्लीका अध्यक्षको अविश्वासको प्रस्ताव रद्द गर्ने र प्रधानमन्त्रीको संसद भंग गर्ने कदमविरुद्ध सर्वोच्च अदालत पुगे । विपक्षीको माग अनुसार सर्वोच्च अदालतले अध्यक्षको उक्त कदम अवैधानिक भन्दै अविश्वासको प्रस्ताव ब्यूताएको थियो । भने प्रधानमन्त्रीको संसद विघटन गर्ने सिफारिस पनि गलत भएको भन्दै उल्ट्याएको थियो ।

नेशनल एसेम्ब्लीका अध्यक्षले राजिनामा दिएपछि पाकिस्तान मुस्लिम लिग नवाजका नेता अयाज़ सादिकले नेशनल एसेम्ब्लीको अध्यक्षता गर्नुभएको छ ।

सोमबार हुने नेशनल एसेम्ब्लीको बैठले पाकिस्तान मुस्लिम लिग नवाजका नेता शाहबाज़ शरीफ़लाई प्रधानमन्त्री बनाउने लगभग निश्चित रहेको छ ।

नेशनल एसेम्ब्लीका कार्यकारी अध्यक्ष अयाज सादिकले आइतबार ११ बजेसम्म प्रधानमन्त्रीको उम्मेद्वारले आफ्नो नामांकन गर्नुपर्ने बताउनुभएको छ ।

Share Now

Leave a comment.