काठमाडौं, २७ चैत्र । सत्ता गठबन्धनमा सम्मिलित दलहरुको आइतबार बसेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक सोमबार पनि बस्ने गरी टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सो बैठकले स्थानीय निर्वाचनमा गठबन्धनलाई प्रभावकारी बनाउने सम्बन्धमा थप छलफल गर्न सोमबार पनि बैठक बस्ने निर्णय गरेको हो ।
सो समितिको आइतबार बसेको बैठकमा स्थानीय निर्वाचनमा गठबन्धनलाई कसरी प्रभावकारीरुपमा बलियो बनाउने भन्ने विषयमा छलफल भयो सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भन्नुभयो ।
गठबन्धनलाई प्रभावकारी बनाउने विषयमा सोमबार बिहान ९ बजे थप छलफल गर्नेगरी आइतबारको बैठक सम्पन्न भएको उहाँको भनाइ छ ।
बैठकमा गठबन्धनका दलले तयार पार्ने घोषणापत्रको विषयमासमेत छलफल भएको छ।
सत्तामा रहेका पाँच दलले वैशाख ३० गतेको निर्वाचन तयारी तथा अनुगमनका जिम्मेवारी काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको समितिलाई दिएको छ ।
चैत २२ गतेको सत्ता गठबन्धनको बैठकले पौडेल नेतृत्वमा दश सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।
समितिमा काँग्रेसका तर्फबाट पौडेलसहित सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, महामन्त्री गगनकुमार थापा, नेकपा (माओवादी केन्द्र)बाट देवप्रसाद गुरुङ र वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)बाट महासचिव डा. वेदुराम भुषाल र उपमहासचिव डा. विजय पौडेल, जनता समाजवादी पार्टीबाट अशोक राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी सदस्य हुनुहुन्छ ।


















