Prakash Adhikari April 10, 2022

काठमाडौँ, २७ चैत्र । मेलम्ची खानेपानी आयोजनाको पानी मंगलबारदेखि फेरि राजधानीमा आउने भएको छ ।

मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची सुरुड.को सम्पूर्ण सफाइ पूरा गरी सुरुड.मा पानी भर्ने कार्य भएको र यही चैत २९ गते मङ्गलबार सुन्दरीजलमा आयोजनाको उद्घाटन हुने जानकारी दिनुभएको छ ।

उहाँले उपत्यकावासीलाई मेलम्चीको पानी सहज वितरण गर्न सम्पूर्ण तयारी पूरा भएको समेत जानकारी दिनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले क्षतिग्रस्त आयोजना सफाइ तथा मर्मत चैत मसान्तभित्र मेलम्ची खानेपानी सञ्चालन गर्न खानेपानीमन्त्री उमाकान्त चौधरीलाई निर्देशन दिनुभएको थियो ।

मन्त्री चौधरीले समय सीमाभित्र नै काम सम्पन्न गर्न कार्ययोजना तथा नियमित निरीक्षण तथा निगरानीसहित काम अघि बढाउनुभएको थियो ।

मेलम्ची खानेपानी आयोजना काठमाडौँ ल्याउने परिकल्पना तथा घोषणा पूर्वप्रधानमन्त्री भट्टराईले गर्नुभएको थियो ।
उपत्यकावासीलाई भविष्यमा पानीको अभाव नहोस् भन्दै स्वर्गीय भट्टराईले २०५१ सालको संसदीय निर्वाचनमा आफ्नो प्रतिबद्धता पत्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने उल्लेख गर्नुभएको थियो ।

यसैको स्मरण गर्दै नेपाल सरकारले सुन्दरीजल स्थित प्रशोधन केन्द्र परिसरमा स्वर्गीय भट्टराईको सालिक स्थापना गर्ने भएको हो ।

सन २००७ देखि निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजना गत असार १ र साउन १७ गते आएको बाढीले ठूलो क्षति पुर्याएको थियो ।
अघिल्लो सुख्खा याममा पनि राजधानी आइपुगेको मेलम्चीको पानी बर्षा लागेपछि बन्द गरिएको थियो । त्यति बेला काठमाडौंभित्र पानी वितरणको सम्पूर्ण पाइप प्रणाली तयार नहुँदै तात्कालीन प्रधानमन्त्री के.पी. ओलीले पार्टीभित्र देखिएको आन्तरिक द्धन्द्धले आफू सरकारबाट विस्थापित हुनुपर्ने हो कि भन्ने त्रासले आयोजना पूरा निर्माण नहुँदै उद्घाटन गर्नुभएको थियो ।

वितेको एक बर्षमा काठमाडौंमा मेलम्चीको पानी वितरणका अधिकांश पाइपप्रणाली जडान भएकोले अघिल्लो पटक भन्दा यसपटक बढी नागरिकले मेलम्चीको पानीको उपयोग र उपभोग गर्न पाउने भएका छन् ।

 

Share Now

Leave a comment.