Prakash Adhikari April 11, 2022

काठमाडौं, २८ चैत्र । देशभरका स्थानीय तहको आगामी बैशाख ३० गते हुने निर्वाचनमा तालमेल गर्ने सम्बन्धमा सत्ता गठबन्धनका पाँच दलबीच अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भइरहेको छ।

बैठकमा गठबन्धनमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समावादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा आबद्ध छन्। जनमोर्चा सरकारमा भने सहभागी छैन।

गठबन्धनका शीर्ष नेतासहितको बैठक बिहान ९ बजेपछि सुरु भएको हो।

यसअघि हिजो आइतबार साँझ पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बसेको थियो।

जसमा प्रदेश तथा जिल्लाहरूबाट आएका चुनावी तालमेलसम्बन्धी रिपोर्टबारे छलफल गरिएको थियो।

आजको बैठकमा गठबन्धनकै उच्च स्तरीय राजनीतिक समन्वय समितिका समेत संयोजक रहेका पौडेलले हिजो गरिएको छलफलको ब्रिफिङ गर्नुहुनेछ ।

आजको बैठकले गठबन्धनका दलबीच महानगर र उपमहानगर बाँडफाँट गर्ने स्थानीय तहमा के कसरी तालमेल गर्ने भन्ने विषयमा एउटा निष्कर्ष निकाल्ने सम्भावना छ

आइतबारको बैठकपछि अनुगमन संयन्त्रको तर्फबाट जारी वक्तव्यमा सत्ता गठबन्धनका दलहरुबीच स्थानीय निर्वाचनमा तालमेल गरेर अघि बढ्न सहमति भएको र प्रदेश र जिल्लामा सहमति कायम गरेर केन्द्रमा पठाउने म्याद ३० गतेसम्म थप गरिएको उल्लेख छ ।

Share Now

Leave a comment.