इस्लामावाद(पाकिस्तान), २८ चैत्र (बीबीसी) । पाकिस्तानमा शहबाज शरिफ देशका २३औँ प्रधानमन्त्री निर्वाचित हुनुभएको छ।
उहाँले तल्लो सदन न्याश्नल असेम्ब्लीमा १ सय ७४ मत पाएका थिए भने पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) का उम्मेदवार शाह महमुद कुरेशीले एक मत समेत पाउनुभएन।
त्यसअघि इमरान खान सहित पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) पार्टीका सदस्यहरूले त्यहाँको संसदको तल्लो सदन न्याश्नल असेम्ब्लीमा राजीनामा घोषणा गर्नुभएको छ।
शहबाज शरिफबारे हामीलाई के थाहा छ ?
सकुन्दर करमानी, पाकिस्तान संवाददाता
सन् २०१८ मा इमरान खान सत्तामा आउनुअघि ७० वर्षीय शरिफले पाकिस्तानको सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रान्त पञ्जाबको मुख्यमन्त्रीका रूपमा काम गरिसक्नुभएको छ।
पाकिस्तान मुस्लिम लीग नवाज (पीएमएलएन)को नेतृत्व गर्ने उहाँले प्रभावकारी र मिहिनेतसाथ काम गर्ने व्यक्तिको रूपमा ख्याति कमाउनुभएको छ।
उहाँलाई पूर्वाधारमा उल्लेख्य सुधार गरेको श्रेय समेत दिइन्छ।
धेरैले शरिफपछि मुख्यमन्त्री बन्नुभएको उस्मान बुज्दारप्रति निराशा पोख्दै उहाँको तुलना गर्छन् जसको व्यापक रूपमा कम योग्य र अक्षम भनेर आलोचना हुने गरेको पाइन्छ।

पाकिस्तान
बुज्दारलाई विस्थापित गर्न अस्वीकार गर्नुलाई कयौँ विश्लेषकहरूले इमरान खान र उहाँलाई यसअघि सघाएको पाकिस्तानी सेनाबिच दरार उत्पन्न हुनुको एउटा कारण बताएका छन्।
शहबाज शरिफ सँधै आफ्ना दाजु नवाज शरिफको छायामा रहनुभयो जो तीन पटक पाकिस्तानको प्रधानमन्त्री हुनुभएको थियो।
जबकी नवाज शरिफले सत्ताबाट आफूलाई हटाइएपछि खुला रूपमै सेनाको आलोचना गर्नुभएको थिोय। शहबाज शरिफले चाहीँ संस्थापनसँग मेलमिलापको पक्ष लिनुभएको थियो।
आफ्ना दाजुझैँ शहबाजले समेत भ्रष्टाचारको आरोप खेप्नुभएको छ र उहाँले खानको कार्यकालमा केही समय जेलमा बिताउनु परेको थियो।
उहाँमाथिको आरोप प्रमाणित भएको छैन र उहाँले त्यसलाई राजनीतिक मनसायबाट प्रेरित बताउँदै आउनुभएको छ।
शहबाजका छोरा हम्जाले आफ्ना बुवाको पदचाप पछ्याउँदै पञ्जाबको नयाँ मुख्यमन्त्री बन्ने आशा राख्नुभएको छ।
इमरान खानका समर्थकहरूले शरिफको परिवारलाई वंश परम्पराको अंश, पुरानो पाकिस्तान बताउँदै त्यसलाई आफूहरूले इतिहास बनाउन चाहेको भनेका थिए।


















