Prakash Adhikari April 11, 2022

 

काठमाडौं, २८ चैत्र । स्थानीय तहको निर्वाचन आउन लगभग एक महिना बाँकी रहँदा सत्ताधारी पाँच दलीय गठबन्धनले तालमेल गर्ने औपचारिक घोषणा गरेको छ।

सोमवार बिहान बसेको पाँच दलका वरिष्ठ नेताहरूको बैठकले ‘हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण’ गरेको उल्लेख गरेको छ।

“तल्लो तहसम्म कार्यकर्ताहरूलाई गठबन्धनप्रति प्रतिबद्ध गराउन यो अपिल जारी गर्नु परेको हो,” बैठकलगत्तै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताउनुभएको छ।

उहाँका अनुसार पाँच दलबीच कुनकुन ठाउँमा कति(कति प्रतिशतका दरले सिट बाँडफाँट गर्ने भन्ने जस्ता प्राविधिक कुराहरू हुन बाँकी नै छ।

“खासमा यो विषय ठाउँअनुसार तल्लो तहका कमिटीहरूले नै निर्क्योल गर्नेछन्”, उहाँले भन्नुभयो।

सोमवारको अपिलमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी नेता दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ।

प्रतिपक्षीको भनाई

गठबन्धनको औपचारिक घोषणाले चुनावमा मर्का पर्ने ठानिएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले चाहिँ आफूलाई फरक नपर्ने प्रतिक्रिया दिएको छ।

करिश्मा मानन्धर पार्टी प्रवेशको क्रममा।

करिश्मा मानन्धर पार्टी प्रवेशको क्रममा।

“एक त यो तालमेल व्यवहारमा लागु होला भन्ने नै लाग्दैन। स्थानीय तहमा यसको अवज्ञा हुन्छ”, नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले भन्नुभयो, “अर्को, हामीले यो अपेक्षित नै ठानेका छौँ र आफ्नै खुट्टामा उभिएर लड्ने जमर्को गरेका छौँ।२०७४ साल ९स्थानीय चुनाव०मा पनि हामीले यस्तै गठबन्धनविरुद्ध लडेर ४२ प्रतिशत स्थानमा जितेका थियौँ।यसपाली हामीलाई जुन पार्टी फुटेका कारण क्षति भएको छ त्यसको पूर्ति हामीले माओवादी र अन्य दलका धेरैलाई समेटेर गरिसकेका छौँ।”

प्रतिपक्षमा रहेको दलका विरुद्ध सत्तामा रहेकाहरूले गठबन्धन गर्नुले नै मनोवैज्ञानिक रूपमा उनीहरूले हार स्वीकार गरेको सङ्केत गरेको उहाँको बुझाइ छ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ७ सय ५३ स्थानमा निर्वाचन एकै चरणमा हुनेछ।

Share Now

Leave a comment.