Prakash Adhikari April 12, 2022

 

इस्तानबुल(टर्की), २९ चैत्र(बीबीसी) । गत सोमवार सुविन्द्र तामाङ टर्कीको राजधानी इस्तानबुलको बोयग्लुमा बस्ने नेपाली साथीलाई भेट्न साथीको कोठामा पुग्नुभएको थियो ।

त्यसअघि पनि तामाड. साथी बस्ने घरमा धेरै पटक पुग्नुभएको थियो। तर त्यो दिन साबिकभन्दा फरक दृश्य देख्दा आफू केही झस्किएको उहाँले सुनाउनुभयो।

“हरेक कोठामा मानिसहरू जम्मा भएका थिए। सबैको हातमा वा छेउमा सुटकेस थियो। उहाँहरूलाई मैले कहिल्यै देखेको थिइनँ। कसैसँग केही कुरा गर्नुअघि प्रहरीको समूह कोठाभित्र पस्यो”, तामाङले सुनाउनुभयो।

नेपाली भाषी आप्रवासी र टर्किस भाषी प्रहरीहरू बीचको संवाद केहीबेर मुस्किल बनेपछि फाट्टफुट्ट अङ्ग्रेजी बोल्न सक्ने एक प्रहरी अधिकारीले आफूहरूसँग कागजपत्र देखाउन आग्रह गरेको उहाँ बताउनुहुन्छ।

कोठामा रहेका ३७ जना नेपालीमध्ये अधिकांशसँग टर्कीमा रहने अनुमति दिइएको कानुनी कागजपत्र थिएन।

“एक छिनमै प्रहरीले हामी सबैलाई स्वास्थ्य केन्द्र लिएर गए। त्यहाँ हाम्रो स्वास्थ्य परीक्षण भयो। म चढेको गाडी करिब १० मिनेट गुडेपछि रोकिएको थियो”, उहाँले घटनाक्रम सुनाउनुभयो।

उहाँहरुलाई प्रान्तीय आप्रवासी प्रशासनको निष्कासन केन्द्र लगिएको रहेछ।

त्यहाँ पुग्दासम्म कसैमाथि पनि शारीरिक दुर्व्यवहार नभएको उहाँले प्रस्ट्याउनुभयो। त्यहाँ लगिएको केही समयपछि आफू र अर्का एक जनालाई पर्यटन अनुमतिपत्रका कागजात भएको आधारमा छाडिएको उहाँले बताउनुभयो।

“हामी दुवै पर्यटकको हैसियतमा बसेको र कुनै आपराधिक गतिविधिमा संलग्न नभएको पुष्टि भएपछि छाडियो”, तामाङले भन्नुभयो।

तामाङ एक वर्षअघि श्रमिकको रूपमा टर्की पुग्नुभएको थियो। केही समयअघि भिसा अवधि सकिएपछि पर्यटन अनुमतिपत्र लिएको र छिट्टै नेपाल फर्कने तयारीमा रहेको उहाँको दाबी छ।

तामाड.सहित दुई जनालाई छोडेको भोलिपल्ट अर्का एक जनालाई ३० दिनभित्र टर्की छोड्ने चेतावनीपत्रसहित रिहा गरिएको टर्कीस्थित गैरआवासीय नेपाली सङ्घका अध्यक्ष उज्ज्वलकुमार घिसिङले जानकारी दिनुभयो।

उहाँका अनुसार बाँकी ३४ जना हालसम्म प्रहरी नियन्त्रणमै छन्।

पक्राउ परेका अधिकांश नेपाली टर्की हुँदै युरोप प्रवेश गर्ने उद्देश्यले त्यहाँ पुगेको उहाँले बताउनुभयो।

टर्की हुँदै युरोप

टर्कीको राजधानी इस्तानबुलबाट ग्रीसको सीमा करिब २६० किलोमिटर मात्र छ। राजधानीबाट लगभग पाँच घण्टाको गाडी यात्रा पछि सीमासम्म पुग्ने र त्यहाँबाट पैदल ग्रिस छिर्ने नेपालीहरूको सङ्ख्या बढ्दो रहेको अध्यक्ष घिसिङले जानकारी दिनुभयो।

त्यसरी अवैध रूपमा जानेहरूबारे यकिन तथ्याङ्क नभए पनि मासिक दुईदेखि चार जना नेपालीहरू आफू समस्यामा परेको भन्दै सहयोग माग्न सङ्घसमक्ष पुग्ने गरेका छन्।

“हामीले सक्दो आर्थिक, नैतिक र भावनात्मक सहयोग पुर्‍याउँछौँ। तर यस पटक पक्राउ परेकाहरूलाई कस्तो सजाय दिइन्छ वा देश फर्काइन्छ थाहा छैन। हामी पनि थप जानकारी पर्खिरहेका छौँ “, उहाँले भन्नुभयो।

पछिल्लो समय विविध माध्यममार्फत भारत, इराक र इरानलगायत देशहरूबाट टर्की हुँदै मानव तस्करको सहयोगमा युरोपतर्फ बाटो तताउनेहरू उल्लेख्य देखिएको उहाँले बताउनुभयो।

त्यसरी गैरकानुनी ढङ्गमा युरोप जान खोज्नेहरू दुर्घटना, अपहरण, लुटपाट र कुटपिटको सिकार हुने गरेको उहाँले सुनाउनुभयो।

“जङ्गलको बाटो हिँडेर जानु पर्छ। त्यस्तो ठाउँमा आपराधिक गतिविधि हुन्छ। त्यसरी आउनेहरूले लाखौँ लगानी गरेका हुन्छन्।”

एउटै दुर्घटनामा चार नेपालीको मृत्यु

घिरिङ गाउँपालिका ५ तनहुँका ओमबहादुर थापा १८ वर्ष साउदी अरबको एक कम्पनीमा काम गरेर नेपाल फर्किनुभएको थियो।

दुई सन्तान र श्रीमतीसहितको परिवारको छाक टार्नकै लागि पनि उहाँ पुनः विदेशिनु पर्ने बाध्यतामा हुनुुहुन्थ्यो।

कसैले युरोप पुर्‍याउने वचन दिएपछि बुवाले नकार्न नसकेको थापाका छोरा मिलन बताउनुहुन्छ।

२२ वर्षीय मिलनले भन्नुभयो,”मेरो बुवाले ग्रीस पठाउँछु भन्नेलाई १६ लाख दिनुभएको थियो। तर नेपाल छोडेको दुई वर्षसम्म उहाँ अर्कै देशमा हुनुहुन्थ्यो।”

गत वैशाखमा थापाले परिवारलाई आफू टर्की पुगेको जानकारी दिनुभएको थियो।

त्यहाँबाट हिँड्दै ग्रीस पुग्ने र भविष्य सुन्दर हुने बताउनुभएका उहाँले त्यहाँ पुगेको छ महिनापछि मात्र आफ्नो समूह ग्रीसको लागि निस्किएको जानकारी दिनुभयो।

“अब हामी जान लागेको भन्नु भयो। त्यसपछि एक महिनासम्म अनलाइन आउनु भएन। फोन पनि गर्नु भएन।”

पटकपटकको प्रयासपछि इन्टरपोलमार्फत आफ्नो बुवाले सडक दुर्घटनामा परी ज्यान गुमाएको पुष्टि गरेको मिलनले सुनाउनुभयो।

“त्यसपछि मैले बाबालाई पठाउनेहरूसँग सम्पर्क गर्न खोजेँ तर उनीहरू अहिलेसम्म सम्पर्कविहीन छन्।”

थापासँगै रसुवाकी रमिला घले, दोलखाका राजु लामा र कैलालीका लक्ष्मण सापकोटाले ज्यान गुमाएको विवरणहरू सार्वजनिक भएका थिए।

तीमध्ये लामा र सापकोटासँग श्रम स्वीकृति भएकाले उनीहरूको शव सरकारले नेपाल झिकायो। तर ओम र घलेको शव ल्याउनका निम्ति गैरआवासीय नेपाली सङ्घले रकम सङ्कलन गरेको अध्यक्ष घिसिङले जानकारी दिनुभयो।

“कानुनी ढङ्गमा आउनेहरूलाई समस्या पर्दा सहयोग गर्न निकाय छ, सरकार हुन्छ। अवैध तरिकाले आउनेहरू अप्ठेरोमा पर्छन्। तर पनि लुकेर युरोप छिर्नेहरूले आफ्नो साथीभाइ, आफन्तहरूलाई आउन हौस्याएको देखिन्छ”, उहाँले भन्नुभयो।

रसुवाकी घले विगत चार वर्षदेखि इराकमा हाउस किपिङको काम गर्नुहुन्थ्यो।

मासिक ४०० डलर कमाउने उनको पारिश्रमिकले नेपालमा रहेका आमाबुवाको खर्च टर्थ्यो। तर ूयुरोप गएर टन्न कमाउने लोभले आफ्नो बहिनीलाई मृत्युसम्मू पुर्‍याएको बताउँनुहुन्छ वीरबल घले।

ूइराकदेखि टर्कीसम्म पुग्न २,५०० डलर र टर्कीबाट ग्रिससम्मका लागि थप २,५०० बुझाएकी थिई। त्यसरी जाँदा सरकारले पनि हेर्दैन भन्ने थाहा भएको भए हामीले नै रोक्थ्यौँ,ू घलेले भन्नुभयो।

गत माघमा टर्कीबाट गैरकानुनी ढङ्गमा ग्रीस पुगेपछि पुनः टर्की नै फर्काइएकाहरूमध्ये १९ जनाको अत्यधिक चिसोको कारण कठ्याङ्ग्रिएर मृत्यु भएको विवरणहरू सार्वजनिक भएका थिए।

तीमध्ये केही नेपाली हुनबारे छानबिन भइरहेको अध्यक्ष घिसिङले बताउनुभयो।

पक्राउ परेकाहरूको उद्धार कहिले ?
पक्राउन परेकाहरूलाई कसरी र कहिले देश फर्काउनेबारे तत्काल निधो नभएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो।

उनीहरूको गिरफ्तारीबारे मन्त्रालयमा आधिकारिक जानकारी नआए पनि सञ्चारमाध्यमहरूमार्फत् सार्वजनिक विवरणले ध्यानाकर्षण गरेको लम्सालले बताउनुभयो।

“जुन देशमा पक्राउ परेका हुन् त्यहीँको कानुन आकर्षित हुन्छ। त्यहाँ पक्राउ परेकाहरू को हुन्, कसरी गएका हुन् र कस्तो खालको कसुर गरेका हुन् थाहा छैन। ती जानकारी आएपछि आवश्यक कदम अघि बढाउँछौँ “, उहाँले भन्नुभयो।

एक टर्किस सञ्चारमाध्यममा कसैले दिएको सुराकको आधारमा जिल्ला प्रहरी नेपालीहरू आश्रित घरसम्म पुगेको जनाइएको छ।

त्यस्तै पछिल्लो समय अवैध आप्रवासीहरूको सङ्ख्या बढेकाले प्रहरीले सक्रिय रूपमा कारबाही अघि बढाएको उल्लेख गरिएको छ।

Share Now

Leave a comment.