काठमाडौं, २० बैशाख । भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं पूर्व अध्यक्ष राहुल गान्धी सोमबार (१९ वैशाख) काठमाडौँ आइपुग्नुभएको छ।
अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनकी पूर्वपत्रकार सुम्निमा उदासको विवाहमा सहभागी हुन राहुल काठमाडौँ आइपुगेको जानकारी म्यानमारका लागि पूर्व नेपाली राजदूत एवं सुम्निमाका पिता भीम उदासले दिनुभएको छ।
सुम्निमाको बिवाह निमा मार्टिन शेर्पासंग आज हुँदैछ । पर्सी बिहिबार ह्यात रिजेन्सीमा पार्टी राखिएको छ ।
यस पटक राहुल ५ दिन नेपाल बस्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतमा बसेर सीएनएनको रिपोर्टिड. गर्दा सुम्निमासंग राहुलको निकट सम्बन्ध रहेको बताइन्छ ।
त्यसो त सुम्निमाले भारतका अन्य प्रतिष्ठित व्यक्तिहरुलाई पनि बिवाहमा निमन्त्रणा गरेको र आउने क्रम जारी रहेको बताइएको छ ।
राहुलले आफ्ना विदेश भ्रमणहरु गोप्य राख्ने गर्नुहुन्छ ।
यस अगाडि नेपाल आउदा पनि उहाँ गोप्य रुपले आउनुभएको थियो ।
त्यो बला राहुल कैलाश–मानसरोवर यात्राका लागि तिब्बत प्रस्थान गर्ने सिलसिलामा काठमाडौँ आइपुग्नुभएको थियो।
कैलाश–मानसरोवरका लागि ल्हासा (तिब्बत) प्रस्थान गर्नुअघि उहाँले काठमाडौँमा पत्रकार सुम्निमासँग गोप्य भेटघाट गर्नुभयो। पुल्चोकस्थित लबिम मल पुगेर कफी पिउनुभयो।
नेपालमा बिमस्टेक बैठक भएकोले नेपालको सुरक्षा संयन्त्र र भारतीय सुरक्षा संयन्त्रले पनि राहुलको नेपाल आगमन र प्रस्थानबारे कुनै जानकारी पाउन सकेका थिएनन् ।


















