काठमाडौं, २० वैशाख । नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपकराज जोशी नियक्त हुनुभएको छ।
परिसंघ पदाधिकारी समितिको २७ औँ बैठकको निर्णय अनुसार जोशीलाई महानिर्देशक नियक्त गरिएको जानकारी परिसंघले दिएको छ।
सोमबार परिसंघको कार्यालयमा आयोजित एक समारोहमा अध्यक्ष निर्देशक विष्णुकुमार अग्रवालले नवनियक्त महानिर्देशक जोशीको स्वागत गर्दै सफल कार्यकायका लागि शुभकामना व्यक्त गर्नुभयो।
अध्यक्ष अग्रवाले नेपाली उद्योगहरूको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले औद्योगिक विकास र निर्माणमा सक्रियतापूर्वक काम गरिरहेको भन्दै नवनियुक्त महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुनेगरी कार्यसम्पादन हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा नवनियुक्त महानिर्देशक जोशीले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई भविष्यमा थप प्रभावकारी बनाइने बताउनुभयो।
उहाँले परिसंघमा आवद्ध सम्पूर्ण सदस्यहरुलाई पर्ने समस्या समाधानका लागि सहजीकरण गर्नेतर्फ ध्यान दिने पनि उल्लेख गर्नुभयो।
नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत जोशीले विगत २२ बर्षदेख विभिन्न गहन जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
उहाँ प्यासेफिक एशिया ट्राभल एशोसिएसनमा उहाँले डेष्टिनेशन कमिटीको अध्यक्षको रुप्मा काम गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय रुपमा च्याम्पियन्स इन च्यालेञ्ज र पर्यटन हिरोजस्ता सम्मान प्राप्त जोशीबाट परिसंघको उद्देश्य अनुरुप कार्यसम्पादन हुने विश्वास परिसंघले लिएको छ ।
वाणिज्य शास्त्रमा स्नातकोत्तर जोशी अन्य आर्थिक क्षेत्रसंग पनि संबन्धित हुनुहुन्छ ।
नयाँ महानिर्देशकको स्वागत तथा पदबहाली कार्यक्रममा अध्यक्ष अग्रवालले परिसंघमा करिब दुई बर्ष महानिर्देशकको जिम्मेवारी सम्हाल्नुभएका यादवप्रसाद पौडेललाई उहाँको योगदानको लागि धन्यवाद पनि दिनुभएको थियो ।


















