भरतपुर(चितवन), २२ बैशाख । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र लोकतन्त्र जोगाउन भएको वर्तमान गठबन्धनलाई तोड्ने षडयन्त्र भएको बताउनुभएको छ ।
चितवनको भरतपुर महानगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले भरतपुरबाट गठबन्धन तोड्ने ठूलो षडयन्त्र हुन थालेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले तात्कालीन सरकारका प्रमुख के.पी. शर्मा ओलीले संविधान कुल्चेर अधिनायकवादी शासन स्थापित गर्ने पटकपटक प्रयास गरेपछि त्यसबाट संविधान र लोकतन्त्रलाई जोगाउन यो गठबन्धन भएको उल्लेख गर्नुभयो ।
उहाँले प्रतिगमन विरोधी गठबन्धनकाप्रति मेचीदेखि महाकालीका जनताको भरोसा रहेरै आफू ८२ प्रतिशत कार्यकर्ताको मतले आफू पार्टी सभापतिमा निर्वाचित भएको पनि उल्लेख गर्नुभयो ।
चितवनको भरतपुरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने क्रममा देउवाले चितवनमा रेणु दाहालले स्मार्ट सिटी बनाउन खोज्नु सानो कुरा नभएको बताउनुभयो ।
उहाँले आन्तरिक एवम् बाह्य पर्यटक र आँैषधोपचारको केन्द्र रहेको चितवनमा थपिने अन्तर्राष्ट्रिय क्रिकेट मैदान र अन्तर्राष्ट्रिय सम्मेलन गृहले भरतपुरको दिगो विकासलाई सघाउने पनि बताउनुभयो ।
कांग्रेस सभापति देउवाले ‘रेणुजस्तो काम गर्ने मान्छे भरतपुरको मेयर नभए अरु को हुन्छ त ?भनेर प्रश्न पनि गर्नुभएको थियो । उहाँले गठबन्धन आवश्यक भएको भन्दै पुष्पकमल दाहाल प्रचण्ड सजिलो नेता भएको पनि दावी गर्नुभयो ।
१५-२० बर्ष गठबन्धन : प्रचण्ड
चुनावी सभालाई संबोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो गठबन्धनलाई १५र२० वर्षसम्म लैजाने योजनामा रहेको बताउनुभएको छ ।
“म गतिशील र सिर्जनशील मान्छे हो तर म अस्थिर होइन। शेरबहादुरजीले नेपालमा राजनेता जन्मियो भनेपछि मैले गठबन्धन फेरेँ”, उहाँले विगत सम्झिँदै भन्नुभयो, “यो गठबन्धन राष्ट्रको आवश्यकता हो, लोकतन्त्र र विकासको आवश्यकता हो भनेर नबुझेर भोट हाल्नु भएन भने देश दुर्घटनामा जान सक्छ।”
उहाँले गठबन्धन राष्ट्र जनता र देशको आवश्यकता हो भनेर भोट हालेमा गठबन्धनलाई २० वर्षसम्म लैजाने बताउनुभयो।उहाँले थोरै चेतावनीयुक्त शैलीमा भन्नुभयो
“यदि गठबन्धनलाई भोट हाल्नु भयो भने म उत्साहित भएर म यो गठबन्धनलाई १०र२० वर्षसम्म लैजान्छु ।एक्लै हिँड्न रुचाउनेलाई नेपालको इतिहास नजिकबाट नियालौँ।”
सभामा माओवादी अध्यक्ष प्रचण्डले अहिले पनि नेकपा एमालेका नेताहरु दुई दलबीच मिल्ने प्रस्ताव लिएर आएको बताउनुभयो ।
उहाँको संकेत २०७४ को स्थानीय निर्वाचनमा भरतपुरमा कांग्रेससँग मिलेर जितेपछि एमालेसँग गठबन्धन गरेको स्मरण गराउँदै प्रचण्डले यदि हँसिया हथौडामा भोट नझरेमा अर्को गठबन्धन बन्न सक्ने संकेत गर्नुभएको थियो।
“एमालेका साथीहरु अहिले पनि मिलौँ भन्दै आएका छन्”, प्रचण्डले भन्नुभयो, “तर मैले हुन्न भनेको छु।”
तानाशाही भन्दा गठबन्धन ठीक : वरिष्ठ नेता पौडेल
चुनावी सभालाई संबोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीले देश तानाशाही शासन चलाउन खोजेपछि आफूले गठबन्धनको परिकल्पना गरेको दावी गर्नुभयो ।
उहाँले भरतपुर महानगरपालिकाका कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले आफ्नो कुरा नसुनेको गुनासो गर्दै भन्नुभयो, ‘जगन्नाथजीले मेरो कुरै सुन्नुभएन ।’
सम्बोधनका क्रममा नेता पौडेलले सत्ताधारी गठबन्धनको यात्रा लामो रहेको समेत बताउनुभयो ।
भोलिको दिनमा पनि मिलेरै सरकार बनाउने भएकाले आज स्थानीय तहबाटै यो अभ्यास भएको उहाँको जिकिर छ ।
संसदको चुनावसम्मै यही गठबन्धन जारी रहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


















