काठमाडौँ, २३ बैशाख । एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स आपसमा गाभिने भएका छन् ।
आपसमा गाभिनका लागि दुवै कम्पनीले बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यसरी आपसमा मर्जरका लागि सहमति गरेर दुवै कम्पनीहरु बीमा इतिहासमै पहिलो कम्पनी बनेका छन् ।
मर्जरका लागि सम्झौता गरेका कम्पनीहरु सैद्धान्तिक सहमतिका लागि शुक्रबार बीमा समिति जाने भएका छन्।
मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम दुवै कम्पनीको अस्तित्व देखिने गरी राख्ने अनौपचारिक सहमति भएको छ तर नाम टुंगो लागिसकेको छैन ।
कम्पनीको सेयर मिलान अनुपात (स्वाप रेसियो) समग्र सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) पछि तय हुने पनि स्रोतले बताएको छ ।
करिब डेढ महिनाअघि बीमा समितिले कम्पनीहरुको चुक्ता पुँजी बढाएको छ । एक वर्षको समय दिएर समितिले कम्पनीहरुको चुक्ता पुँजी बढाएको हो । मर्जर तथा एक्विजिसनका लागि प्रोत्साहन गरी कम्पनीको संख्या घटाउने उद्देश्यले समितिले पुँजी वृद्धिको निर्णय गरेको थियो ।
मर्जर भएपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी २ अर्ब ४३ करोड रुपैयाँ पुग्ने बताइएको छ । हाल एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी सवा एक अर्ब र हिमालयनको करिब १ अर्ब १७ करोड रुपैयाँ छ ।
चालु आर्थिक वर्षभित्रै मर्जर प्रक्रिया पूरा गर्ने सहमति दुवै पक्षबीच भएको स्रोतको दाबी छ ।


















