Prakash Adhikari May 6, 2022

क्वालालम्पुर(मलेसिया), २३ बैशाख । मलेसिया सरकारले यही वर्षको मे १ तारिखदेखि न्यूनतम पारिश्रमिक बढाएपछि त्यसले उक्त देशमा कार्यरत लाखौँ नेपाली कामदारहरूलाई पनि ूफाइदा पुग्नेू अधिकारीहरूले बताएका छन्।

पहिले १२ सय रिङ्गिट न्यूनतम तलब रहेको मलेशियाका अधिकांश सहरी क्षेत्रमा अब न्यूनतम पारिश्रमिक १५ सय रिङ्गिट निर्धारण गरिएको बताइएको छ।

मलेसिया सरकारले उपलब्ध गराएको विवरण अनुसार त्यहाँ करिब दुई लाख नेपाली कामदार कार्यरत रहेको मलेसियास्थित नेपाली दूतावासका अधिकारीहरूले बताएका छन्।

यद्यपि त्यहाँ अहिले पनि करिब ५० हजारको हाराहारीमा अवैध रूपमा कार्यरत नेपाली श्रमिकहरू रहेको र उनीहरूले बढेको पारिश्रमिकबाट लाभा पाउन नसक्ने देखिएको कतिपय कामदारको भनाइ छ।

नयाँ नियम
मलेसियास्थित नेपाली दूतावासका श्रमसम्बन्धी कन्सुलर दीपक ढकालका अनुसार मे १ तारिखदेखि देशका अधिकांश सहरी क्षेत्रमा नयाँ पारिश्रमिक लागु भएको छ।

“कतिपय सिटी काउन्सिल र म्युनिसिपल काउन्सिलले तोकेर अलगअलग निर्धारण गरेको भए पनि अब दूतावासले कम्पनी र रोजगारदातालाई १५ सय रिङ्गिटभन्दा कममा प्रमाणीकरण गर्दैन।” ढकालले भन्नुभयो, “क्षेत्र अनुसार कतै १२ सय रिङ्गिट पनि छ। तर अधिकांश सहरी क्षेत्रमा जहाँ नेपाली कामदार काम गर्छन् त्यहाँ १५ सय रिङ्गिट नै लागु हुनेछ।”

विभिन्न खाले नेपाली राहदानी

विभिन्न खाले नेपाली राहदानी

दूतावासले त्यसै अनुसार सूचना पनि निकालिसकेको छ।

उक्त सूचनामा दूतावासमा पेस हुने ूमागपत्र र रोजगारी सम्झौतापत्रूमा अहिले लागु भएको पारिश्रमिक नै उल्लेख गर्न भनिएको छ।

पहिलेदेखि कार्यरत कामदारको हकमा के हुन्छ?

ढकालका अनुसार मलेसिया सरकारले न्यूनतम तलब १५ सय रिङ्गिट बनाएकाले अब त्योभन्दा कम तलब नेपालीले नपाउने बरु बढी पाउनसक्ने छन्।

सन् २०१८ को अक्टोबरमा नेपाल र मलेसियाबीच भएको श्रमसम्बन्धी समझदारीमा पनि मलेसिया सरकारले लागु गरेको न्यूनतम पारिश्रमिक नै नेपाली कामदारले पाउने उल्लेख रहेको उहाँले बताउनुभयो।

“पहिले जे लेखिएको भए पनि उक्त समझदारी अनुसार नै तलब स्वतः बढ्नुपर्छ।”, ढकालले भन्नुभयो, “मलेसिया सरकारको श्रम कानुन अनुसार र श्रम सम्झौता अनुसार पनि त्यस्तै हुनुपर्छ।”

 

तर पूर्ण कागजात नभई अवैध रूपमा त्यहाँ कार्यरत नेपाली कामदारका हकमा भने अलि जटिलता रहेको ढकालले बताउनुभयो।

कार्यान्वयन पक्ष

आठ वर्षदेखि मलेसियामा कार्यरत तथा हाल नेपाली कामदारका हकहितबारे काम गर्ने एक मलेसियाली गैरसरकारी संस्थासँग स्वयम्‌सेवकका रूपमा आबद्ध नवलपरासीका रमेशकुमार पञ्जियार भने पछिल्लो निर्णय कार्यान्वयन हुनेमा शङ्का व्यक्त गर्नुहुन्छ।

“पूर्ण कागजात नभएकाले यो नियमअनुसारको पारिश्रमिक पाउँछन् भन्ने निश्चित छैन। अन्य कागजात भएका कतिपयको पनि नियुक्तिपत्र हुँदैन।”,  पञ्जियारले भन्नुभयो, “दूतावासमा कम्पनीले आफ्नो कागजातमा यति तलब दिन्छौँ भनेर स्वीकृति गराउँछन् तर पछि कामदारलाई दिँदैनन्। त्यस्तो अवस्थामा कामदारले नयाँ तलब नपाउने पनि हुनसक्छ।”

उहाँका भनाइमा कैयौँ वैध नेपाली कामदारहरूले पनि नियुक्तिपत्र नपाइ काम गरिरहेका छन्। त्यसले गर्दा उक्त निर्णय कार्यान्वयन गर्न समस्या हुनसक्छ।

कामदार

नेपाल र मलेसियाबीच सन् २०१८ एउटा श्रम समझदारी भएको थियो

पञ्जियार मलेसियामा श्रमिक हकहितका लागि काम गर्ने संस्था भए पनि नेपाली कामदारहरूले उजुरी नगर्ने गरेको बताउँछन्।

हाल मलेसियामा कामदारले १२ सय रिङ्गिट पाउँदै आएका छन्।

तलब कति बढ्नसक्छ ?
प्रायस् नेपाली कामदारहरूले महिनामा २६ दिन दैनिक ८ घण्टा काम गर्ने गरेको बताइन्छ।

आठ घण्टाभन्दा बढी काम गर्दा कामदारले तलबको १.५ प्रतिशतका हिसाबले घण्टा अनुसार थप तलब पाउँछन्।

आइतवार दुई प्रतिशत र सार्वजनिक बिदाका दिन तीन प्रतिशतका हिसाबले थप काम गरेको तलब पाउने गर्छन्।

त्यस हिसाबले अहिले न्यूनतम पारिश्रमिकबाहेक प्रतिघण्टा आठ रिङ्गिट थप तलब पाउनेमा अब त्यो बढेर न्यूनतम प्रतिघण्टा ११ रिङ्गिटसम्म पुग्नसक्ने पञ्जियारको भनाइ छ।

सुरक्षा गार्डको तलब

नेपाल सरकारले मलेसियासँग त्यहाँ सुरक्षा गार्डका रूपमा कार्यरत नेपाली कामदारको पारिश्रमिक बढाएर तीन हजार रिङ्गिट पुर्‍याउनुपर्ने प्रस्ताव गरेको अधिकारीहरूले बताएका छन्।

यद्यपि त्यसबारे मलेसियाले हालसम्म जवाफ दिइसकेको छैन।

मलेशिया

मलेसिया
नेपाल र मलेसियाबीच भएको श्रम समझदारी अनुसार बनेको संयुक्त कार्यसमूहको निकट भविष्यमा हुने बैठकमा त्यसबारे थप छलफल हुनसक्ने ढकालले जानकारी दिए।

पञ्जियारका भनाइमा मलेसियामा ूसबैभन्दा लामो समय काम गर्नुपर्ने र पारिश्रमिकमा पनि अन्याय भोग्नेू समूहमा नेपाली सुरक्षा गार्ड पर्छन्।

“नियम अनुसार पूर्व प्रहरी वा पूर्व सैनिकहरू मात्र त्यस्तो गार्ड बन्न पाउँछन्। धेरै सामान्य नेपालीहरू पनि गार्ड रहेकाले कम्पनीहरूले स्वीकृति लिएका छैनन्।” , पञ्जियारले भन्नुभयो,”त्यस्तोमा नेपाली सुरक्षा गार्डहरूले पाउनुपर्ने सबै सुविधा नपाएको अवस्था छ।”

मलेसियामा नेपाली कामदार

ढकालका अनुसार गत ज्यानुअरीमा मलेसिया सरकारले उपलब्ध गराएको विवरण अनुसार त्यहाँ १ लाख ७८ हजार नेपाली श्रमिक छन्।

त्यो भन्दा अगाडिको विवरणमा १ लाख ६० हजार श्रमिक रहेको उल्लेख थियो।

आगामी जुनसम्मका लागि मलेसियाले अवैध रूपमा बसेका कामदारलाई वैध बन्ने अवसर दिएकाले उक्त सङ्ख्या बढेको हुनसक्ने उहाँ बताउँनुहुन्छ।

मलेसियामा अवैध रूपमा कार्यरत नेपाली कामदारको सङ्ख्या भने आफूहरूलाई थाहा नभएको दूतावासका अधिकारीहरूको भनाइ छ।

यद्यपि अनौपचारिक रूपमा कामदारहरूले बताए अनुसार त्यहाँ अझै पनि ४० देखि ५० हजारसम्म नेपाली कामदारहरू अवैध रूपमा कार्यरत छन्।

 

Share Now

Leave a comment.