Prakash Adhikari May 10, 2022

 

सानेपा(ललितपुर), २७ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी बनाउन अपिल गर्नुभएको छ ।

मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदा देउवाले उम्मेदवारहरूलाई विजयी गराउन मतदातासँग अपिल गर्नुभएको हो ।

‘सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो महान् अभियानमा निर्भिकता साथ सहभागी भई मतदान गर्न आह्‍वान गर्दछु’, देउवाले भन्नुभएको छ ।

अपिलमा उहाँले स्थानीय तह निर्वाचनलाई लोकतन्त्रको बलियो आधार भएको र स्थानीय तह सङ्‍घीय शासन प्रणालीको आधारस्तम्भ पनि भएको बताउनुभएको छ ।

हरेक नागरिकका सुख दुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्रको रूपमा पनि स्थानीय सरकार भएको भन्दै देउवाले निरन्तर लोकतान्त्रिक सङ्‍घर्षको यात्रामा रहेको कांग्रेसका उम्मेदवारहरूलाई मत दिन आग्रह गर्नुभएको छ ।

उहाँले कांग्रेसलाई आम नेपाली नागरिकको ढुकढुकी भएको पार्टी रूपमा पनि चित्रण गर्नुभयो ।

‘अरु कुरा गर्छन्, हामी काम गर्छौं’, ‘सबल स्थानीय सरकार स् समुन्नत गाउँ, समुन्‍नत नगर’ नारा लिएर निर्वाचन अभियानमा रहेको कांग्रेस उम्मेदवारहरूलाई ‘रुख’ चिह्नमा मतदान गर्न प्रधानमन्त्री समेत रहनुभएका देउवाको आग्रह छ ।
(पूर्णपाठ)ः

वैशाख २७, २०७९

अपील

आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू,

यही बैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर हाम्रो ऐतिहासिक पार्टी नेपाली कांग्रेसका उम्मेदवारहरुलाई अत्याधिक मतले विजयी बनाउनु हुन हार्दिक अनुरोध गर्दछु ।

स्थानीय तह निर्वाचन लोकतन्त्रको बलियो आधार हो । स्थानीय तह संघीय शासन प्रणालीको आधारस्तम्भ पनि हो । हरेक नागरिकका सुखदुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्र पनि हो । नेपाली कांग्रेसको नेतृत्वमा दशकौंसम्म भएका लोकतान्त्रिक संघर्षको अविराम यात्राका थुप्रै आरोह, अवरोह र चुनौति पार गरेर मात्र नागरिकले स्थानीय तहमा आफ्नो सरकार आफैं बनाउने अवसर प्राप्त गरेका छन् । अत्यन्त कठीन साधना र समर्पणको फलस्वरुप प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो महान अभियानमा निर्भिकता साथ सहभागी भई मतदान गर्न आह्वान गर्दछु ।

नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकमा अग्रगामी परिवर्तनमुखी सामाजिक र आर्थिक आन्दोलन र अभियान सम्पन्न भएको इतिहास साक्षी छ । नेपालका हरेक राजनीतिक आन्दोलन र त्यसको सफलतामा नेपाली कांग्रेसको निर्णायक भूमिका रहँदै आएको छ । नेपाली नागरिकको प्रत्यक्ष संलग्नतामा संविधान सभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दै गर्दा नेपाली कांग्रेसको नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा भएको पछिल्लो घटनाक्रम तपाईं हाम्रा सामु छर्लङ्ग छ । यही परिवेशमा पाँच दलीय गठबन्धन बनेको र यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनु पर्ने अवस्था बारे तपाईं हामी सबै जानकार नै छौं ।

नेपाली कांग्रेस एउटा राष्ट्रिय संकल्प, स्पष्ट दूरदृष्टि, इमान्दार अठोट, सूचना–ज्ञान र प्रविधिका जानकार जनशक्ति र राजनीतिक एवं शासकीय स्थिरताका लागि प्रतिवद्ध छ । कृषिमा व्यावसायीकरण र आधुनिक प्रविधिको प्रयोग, सर्वसुलभ र गुणस्तरीय शिक्षा र स्वास्थ्य, पर्यटन क्षेत्रको प्रवद्र्धन, जलविद्युतको उत्पादन, पूर्वाधार विकास, रेमिट्यान्सलाई उत्पादनमुखी क्षेत्रमा लगानी गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने लगायतका सङ्कल्प नेपाली कांग्रेसले लिएको छ ।

लोकतन्त्रको रक्षा र संविधानको संरक्षणका लागि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कोभिड—१९ को महामारीको त्राशदीमा रहेका आम नागरिकलाई २०७८ चैत्रभित्र खोप उपलब्ध गराउने प्रतिवद्धता समयमै पूरा भएको छ । अन्योलमा रहेको मेलम्चीको खानेपानी यही बैशाख भित्र वितरण गरी काठमाडौं नगरवासीको आकांक्षा पूरा गर्न सरकार सफल भएको छ । नेपाली कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ, मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन भन्ने प्रमाणित गरेको छ । सन्तुलित विदेश नीतिका कारण अन्तर्राष्ट्रिय समुदाय माझ भरोसा र विश्वास बढेको छ । संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० परियोजना पारित भएसँगै पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय सहयोग र लगानीका थप सम्भावनाका ढोका खुलेका छन् । भ्रष्टाचारलाई निरुत्साहित गर्दै सु–शासनका पक्षमा उल्लेखनीय काम भैरहेका छन् ।

पहिलो स्थानीय तह निर्वाचनकै बेलादेखि सिंहदरवारबाट शासन र विकास निर्माणका काम तराई–मधेशदेखि हिमाल–पहाडका गाउँ नगरसम्म पु¥याउने अभियानमा कांग्रेस लाग्दै आएको छ । स्थानीय तहमा उपलब्ध अवसर एवं स्रोत साधनको अधिकतम परिचालन गर्दै संघ र प्रदेशको समन्यायिक सहयोग र समन्वयमा विशेष गरी युवा पुस्ताको सिर्जनशीलता, उद्यमशीलता, रोजगारी र आय आर्जनका माध्यमबाट आर्थिक समुन्नति हासिल गर्ने तर्फ नेपाली कांग्रेस क्रियाशील हुनेछ । स्थानीय तहलाई कानूनतः सबल र समृद्ध बनाउने प्रतिवद्धता पूरा गर्न नेपाली कांग्रेस कसैसँग सम्झौता गर्दैन । तर नीति निर्माण र कानून बनाउने थलो संसदलाई बन्धक बनाएर राख्ने अराजनीतिक र अलोकतान्त्रिक क्रियाकलाप नै यसका बाधक छन् भन्ने प्रष्टै छ ।

आम नागरिक तथा राजनीतिक दलहरुको विश्वासमा नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन सम्पन्न गराएर संविधानको कार्यान्वयनमा फेरि एकपटक ईटा थप्ने अवसर प्राप्त गरेको छ । स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगमा सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणका लागि सुसंस्कारयुक्त राजनीतिक बागडोरको जिम्मा लगाउने अधिकार तपाईं आमाबुवा, दिदीबहिनी तथा दाजुभाइका हातमा आएको छ । नेपाली कांग्रेस आम नेपाली नागरिकको ढुकढुकी हो । ‘अरु कुरा गर्छन्, हामी काम गर्छौं’ । ‘सबल स्थानीय सरकार ः समुन्नत गाउँ, समुन्नत नगर’ हाम्रो मूलमन्त्र हो । यो विश्वासका साथ ‘रूख’ चिह्नमा मतदान गरी नेपाली कांग्रेसका उम्मेदवारलाई अत्याधिक मतका साथ विजयी गराउनु हुन हार्दिक अपील गर्दछु ।

जय नेपाल !

शेरबहादुर देउवा
सभापति

 

Share Now

Leave a comment.