काठमाडौँ, २७ बैशाख । सत्तारुढ गठबन्धनले मौन अवधि सुरु हुनुभन्दा एक दिनअघि स्थानीय तहमा गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरेको छ ।
बुधबार गठबन्धन सम्बद्ध दलका शीर्ष नेताहरूले संयुक्त अपिल जारी गर्दै पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गर्नुभएको हो ।
‘उत्साहका साथ निर्वाचनमा सहभागी भई पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गरी अत्यधिक बहुमतका साथ विजयी गराउन सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा हार्दिक अपिल गर्दछौं‚’ संयुक्त अपिलमा भनिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा‚ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‚ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल‚ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी अध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेको संयुक्त अपिल जारी गर्नुभएको हो । उहाँहरुले दुईदुईपटक संसद् विघटन भएपछिको असहज परिस्थितिमा ‘संकीर्ण र निषेध’ को राजनीतिविरुद्ध सहमति र सहकार्यको जगमा गठबन्धन भएको भन्दै आफ्ना उम्मेदवारहरूलाई मत हाल्न आग्रह गर्नुभएको छ ।
‘दुई दुईपटक संसद् विघटन भएपछिको असहज परिस्थितिमा ‘संकीर्ण र निषेध’को राजनीतिविरुद्ध ‘सहमति र सहकार्य’ को जगमा अहिलेको सरकार गठन भएको हो । राजनीतिक स्थिरता कायम राख्दै सुशासन र विकासका प्रक्रियालाई निरन्तरता दिई मुलुकलाई निकास दिनुपर्ने दायित्व बोध गरी पाँच दलीय एकता कायम गरिएको हो‚’ अपिलमा भनिएको छ‚ ‘आम मतदाता नागरिक नै हाम्रो शक्तिका स्रोत हुन् । यसर्थ, वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन सम्पन्न गर्न सबैलाई एकजुट भएर लाग्न आग्रह गर्दछौं ।’
संयुक्त अपिलमा स्थानीय तहको निर्वाचनपछि मुलुकले निर्णायक मोड र दिशा लिने निश्चित भएको भन्दै स्थानीय निर्वाचनका माध्यमबाट मुलुकको एकता बलियो बनाउँदै राजनीतिलाई सही ढंगले लोकतन्त्रको बाटोमा डोहोर्याउन सक्ने दाबी गरिएको छ ।
‘मतदानको दिन सन्निकट आइपुग्दै गर्दा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’मा उत्रिएका विभिन्न पालिकाका विभिन्न पदका आफ्ना पार्टीका उम्मेदवारको अवस्था आकलन गरी विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न पार्टी तहमा आह्वान गर्दछौं‚’ अपिलमा भनिएको छ ।


















