काठमाडौं, २८ वैशाख। नबिल बैंकका पूर्वअध्यक्ष स्वर्गीय शम्भुप्रसाद पौड्यालको सम्झनामा यस वर्षबाट बैंकले कर्मचारी परिवारका लागि ‘श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ शुरु गरेको छ ।
पौड्यालले बैंकमा लामो समयदेखि सञ्चालक हुनुहुन्थ्यो। कोरोना संक्रमणमा परेर उहाँको देहान्त भएको थियो ।
प्रत्येक वर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय परीक्षाबोर्डको प्लस टु तहमा उत्कृष्ट नतिजा ल्याउने मेहेनती तथा जेहेन्दार सन्तानहरुका नाम यो छात्रवृत्तिको लागि मनोनयन गर्न पाउछन्।
उच्च शिक्षाका लागि प्रोत्साहन गर्ने उद्देश्यसहित बैंकले यो कार्यक्रम ल्याइएको हो ।
मनोनीत कर्मचारी परिवारका सन्तानहरुबाट उत्कृष्ट नतिजा ल्याउने २ जना छात्र र २ जना छात्रालाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।
विजेताले ५० हजार रुपैयाँ छात्रवृत्तिमा पाउने छन् । बैंकले आर्थिक वर्ष २०७७÷७८ का लागि कर्मचारी उदयराज खनालकी छोरी उनिका खनाल, सन्देशराज भट्टराईका छोरा दीपसन भट्टराई र कर्मचारी मुरारीप्रसाद अर्यालका छोरा मुकुल अर्याललाई छात्रवृत्ति दिने भएको छ ।
नबिल बैंकको प्रधान कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले बैंकका सञ्चालक समितिका सदस्यहरु, वरिष्ठ व्यवस्थापन तहका कर्मचारीहरु, पूर्वअध्यक्षका परिवार र छात्रवृत्ति विजेताहरूको अभिभावकको उपस्थितिमा तीनै विजेताहरुलाई छात्रवृत्तिको रकम सहित प्रशंसा पत्र हस्तान्तरण गर्नुभएको थियो ।
छात्रवृत्ति कार्यक्रमको बारेमा बोल्दै बैंकका अध्यक्ष पौड्यालले स्वर्गीय शम्भुप्रसाद पौड्यालले बैंकलाई पुर्याएको लामो योगदानको उच्च प्रश्ँंसा गर्दै उक्त योगदान अत्यन्त महत्वपूर्ण र अविस्मरणीय रहेको बताउनुभयो ।


















