Prakash Adhikari May 12, 2022

 

भरतपुर(चितवन), २९ बैशाख । शुक्रवारको मतदानपछि सबैको ध्यान मतगणनामा केन्द्रित हुनेछ।

विगतमा मतगणनास्थलमै भएका भनिएका अनियमितता तथा बेथिति सुधार्न यस पटक गणनास्थलहरूमा विशेष व्यवस्था मिलाइएको निर्वाचन आयोगले बताएको छ।

तारबार अनि निगरानीका लागि कैयन् ठाउँमा सीसीटिभी क्यामेरा सञ्चालन गरिएको बताइएको छ।

“सबै ठाउँको मतगणना यहीँबाट निगरानी गर्न सकियोस् भनेर सीसीटिभी राख्ने हाम्रो अपेक्षा थियो। यसमा हामी ५० प्रतिशत ठाउँमा मात्र सफल हुन सकेका छौँ “, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभएको छ।

भरतपुरको तयारी

२०७४ सालको स्थानीय चुनावमा मतगणनाको क्रममा मतपत्र च्यातिएको भरतपुरमा यसपालि उस्तै कथा दोहोरिन नदिन सबैखाले सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ।

भरतपुर महानगरपालिकाको मतगणना त्यहाँ रहेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा हुने भएको छ।

भरतपुर मतगणनास्थल

भरतपुर मतगणनास्थल

मतगणनास्थलमा विभिन्न सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले बताए।

निकै पेचिलो बनेको भरतपुर महानगरपालिकाको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान केन्द्रित भएको छ।

मतगणना सुरक्षित र व्यवस्थित तरिकाले सम्पन्न गर्नको लागि सिसिटिभी क्यामेरा र तारजाली लगायतका मजबुत व्यवस्था हुने मुख्य निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो।

ूनिगरानी गर्न सीसीटिभी क्यामेरा जडान गरिएको छ। अनि अकस्मात् बिजुली गएको खण्डमा स्वचालित जेनेरेटर चल्नेछ। पूर्वसावधानीका सबै उपाय अपनाइएका छन्,ू उहाँले भन्नुभयो।

२९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा १ लाख ८५ हजार मतदाता रहेका छन्।

यहाँ मतदानको लागि ६५ मतदानस्थल र २ सय २ वटा मतदान केन्द्र रहेका छन्।

भरतपुर मतगणनास्थल

विगतको स्थानीय तहको निर्वाचनमा मतगणनाको क्रममा भएको घटना दोहोरिन नदिन तीन तहको सुरक्षाकर्मी परिचालनका साथै पर्याप्त कर्मचारी खटाइने प्रमुख जिल्ला अधिकारी आशमान तामाङले बताउनुभएको छ।

भरतपुर मतगणनास्थल

“विगतको घटनाबारे समीक्षा गरेर त्यसैअनुरूप सुरक्षा व्यवस्था पुनरावलोकन गरिएको छ”, तामाङले भन्नुभयाो, “त्यतिखेर भएका त्रुटि केलाइएको छ। यिनै विषयका आधारमा निर्वाचन आयोगले निर्दिष्ट गरेका सबै उपाय अवलम्बन गरिएका छन्।सुरक्षाका हकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना तीनै निकायका सुरक्षाकर्मी त्यहाँ परिचालन गरिएको छ।”

भरतपुरको मतगणनाको नतिजा जेठ ५ गतेसम्म आउने बताइएको छ।

Share Now

Leave a comment.