Prakash Adhikari May 12, 2022

 

नयाँदिल्ली(भारत), २९ बैशाख । गणतन्त्र भारतका लागि नवनियुक्त नेपालका राजदूत शंकरप्रसाद शर्माले गणतन्त्र भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा बुधबार आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो।

ओहोदाको प्रमाणपत्र पेश गरेपछि राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा राजदूत शर्माले भारतका राष्ट्रपतिको व्यक्तिगत स्वास्थ्य, सुख, शान्ति र भारतका मित्रवत् जनताको निरन्तर प्रगति एवं समृद्धिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपाली जनताका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

भारतका लागि नेपाली राजदूतमा नियुक्त हुनुभएकामा शर्मालाई स्वागत गर्दै भारतका राष्ट्रपतिले बधाई ज्ञापन गर्नुभयो।

राष्ट्रपति कोविन्दले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपालका मित्रवत् जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दै आफ्नातर्फबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा र नेपाली जनतामा शुभकामना व्यक्त गर्न राजदूत शर्मालाई आग्रह गर्नुभयो।

राजदूत शर्माले नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू तत्पर रहेको बताउनुभयो। दुई देशको सहयोगात्मक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफूले इमान्दार प्रयास गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

त्यस अवसरमा भारतको परराष्ट्र मन्त्रालय, राष्ट्रपति कार्यालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका उच्च अधिकारीहरूको उपस्थिति थियो।

 

Share Now

Leave a comment.