Prakash Adhikari May 19, 2022

संजीव गिरी /बीबीसी न्यूज नेपाली
काठमाडौं, ५ जेठ । यस पटकको वसन्त याममा नेपालपट्टिबाट सगरमाथा चढ्ने आरोही सफल हुने दर विगतमा भन्दा उच्च रहेको अधिकारीहरूले बताएका छन्।

पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्नका लागि यसपालि ४१ समूहमा शेर्पाबाहेक ३ सय १७ आरोहीले नेपाल सरकारसँग अनुमति लिएका थिए।

“झन्डैझन्डै ८० प्रतिशतले आरोहण गरिसकेका छन्”, पर्यटन विभागको पर्वतारोहण शाखाका निर्देशक सूर्यप्रसाद उपाध्यायले भन्नुभयो।

कोभिड महामारी फैलिएको बेला गत वर्ष सगरमाथा आरोहणका लागि ४ सय ८ जनाले स्वीकृति पाएका थिए।त्यो अहिलेसम्मकै उच्च सङ्ख्या हो।

कोरोनाभाइरस महामारीसँगै विश्वका विभिन्न देशले यात्रासम्बन्धी प्रतिबन्ध खुकुलो पारेपछि पर्वतारोहणमा देखिएको उत्साहजनक चहलपहल हुन थालेको अधिकारीहरू बताउँछन्।

युक्रेन युद्धको मार
यद्यपि युक्रेनमाथि रुसी आक्रमणका कारण युरोपबाट पर्वतारोहणका लागि आउनेहरूको सङ्ख्यामा भने केही प्रभाव परेको बताइएको छ।

यसपालि युक्रेनका एक जना र रुसबाट तुलनात्मक रूपमा कम सङ्ख्यामा पर्वतारोही सगरमाथा चढ्न नेपाल आएको विभागले जनाएको छ।

यसपालि झन्डै ४०० वटा टोलीले आरोहणको अनुमति लिएका छन्

सरकारले यसपालि सबै हिमालमा भएका पर्वतारोहणबाट झन्डै ४७ करोड रुपैयाँ आरोहण अनुमति शुल्क वा सलामी (रोयल्टी) उठाएको जनाएको छ।

उक्त रकम आफैँमा ठूलो नभए पनि त्यसको १० गुणा बढी विदेशी मुद्रा नेपालमा भित्रिने आकलन रहेको उपाध्यायले जानकारी दिनुभयो।

सगरमाथा बाहेक नेपालका २७ हिमाल चढ्न झन्डै ७४ देशका नागरिक नेपाल आएको विभागको भनाइ छ।

तीन जनाको मृत्यु
आरोहण अझै जारी रहेको यो याममा सगरमाथामा तीन जनाले ज्यान गुमाएको पर्यटन अधिकारीहरूले बताएका छन्।

आकस्मिक रूपमा उद्धारको कार्य भने सम्बन्धित एजेन्सीले गर्ने हुँदा यकिन तथ्याङ्क आफूसँग उपलब्ध नभए पनि विगतमा तुलनामा धेरैको उद्धार गर्नु नपरेको जानकारी आफूले प्राप्त गरेको उपाध्यायले जानकारी दिनुभयो।

सगरमाथाको आधार शिविरबाट सरकारका एकजना सम्पर्क अधिकृत खिमलाल गौतमले यसपालि हालसम्म झन्डै ६,४०० मिटरमा पर्ने क्याम्प २ भन्दा माथि कसैको पनि मृत्यु नभएको जानकारी दिनुभयो।

यसअघि सन् २०१९ मा ११ (नेपालतर्फ) जनाले ज्यान गुमाएका थिए।

सगरमाथा

सगरमाथा
तीमध्ये अधिकांश त्यस बेला भएको भनिएको व्यस्त र भिडभाडयुक्त लामका कारण ८,००० मिटर माथिको ूडेथ जोनू मा ज्यान गुमाएका थिए। उक्त क्षेत्रलाई निकै जोखिमयुक्त मानिन्छ।

सन् २०२० मा कोभिड महामारीका कारण आरोहण हुन सकेको थिएन।

सन् २०२१ मा एक शेर्पा र एक विदेशी आरोहीले ज्यान गुमाएका थिए।

सगरमाथामा हालसम्म क्याम्प १ मा ५५ वर्षका एक रुसी नागरिकको मृत्यु भएको बताइएको छ।

त्यस्तै क्याम्प १ तर्फ जाँदै गर्दा एक शेर्पाले ज्यान गुमाएको बताइन्छ।

अर्का एक नेपालीको क्याम्प २ मा समस्यामा परेपछि हेलिकोप्टरमार्फत् उद्धार गरिएको थियो। तर पछि उहाँको मृत्यु भयो।

“यसपालि कुनै हिमाली गतिविधिले गर्दा, हिमपहिरोमा परेर वा बरफका चिराहरूमा परेर मृत्यु भएको घटना एउटा पनि भएन”, गौतमले भन्नुभयो।

“व्यवस्थित”

विगतमा सगरमाथा चढ्ने आरोहीहरूको सङ्ख्या उच्च रहँदा सगरमाथामै लामो लाइन देखिने गरेको थियो।

सगरमाथा आधार शिविर

यसपालि पनि हिलरी स्टेप र साउथ समिटबाट १०० मिटरको दूरीमा रहेको सगरमाथाको चुचुरोसम्म मे महिनाको ११ र १२ तारिखमा धेरैले हिमाल चढेका कारण झन्डै ४५ मिनेटजति आरोहीहरू रोकिनुपरेको बताइएको छ।

“तर यो भनेको एकदमै सामान्य अवस्था हो। त्यसलाई जाम वा ट्राफिक भन्न मिल्दैन”, सगरमाथा आरोही समेत रहेका गौतमले भने।

केही आरोही भने क्याम्प २ बाटै फर्किएको बताइएको छ।

सफलता बढ्नुको कारण
बीबीसीसँग आधार शिविरबाट कुरा गर्दै गौतमले आरोहीहरूका लागि यसपटक चुचुरो पुग्ने उत्कृष्ट मौसम (समिट विन्डो) ले निकै साथ दिएको बताउनुभयो।

सगरमाथा आरोहणका लागि यसपालि सर्वाधिक सगरमाथा चुचुरोमा पुग्ने कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पा सहितको एक समूहले मे महिनाको ७ तारिखमा चुचुरोसम्म पुग्न डोरी टाँगेर बाटो खोलेको थियो।

त्यसको एक हप्तामै अधिकांश आरोहण भएको अधिकारीहरू बताउँछन्।

बाटो बनाउँदै

बाटो बनाउँदै

“पूर्णिमाको वरपर सामान्यतया हिमालमा मौसम राम्रो हुन्छ। मे १५ मा पूर्णिमा थियो। मे ७ देखि लामो वेदर विन्डो भयो”, गौतमले भन्नुभयो,”मे ९ देखि १५-१६ सम्म त अत्यन्त राम्रो, एकदम कम हावा चल्ने र बाटो पनि (अवरोधरहित ढङ्गले) राम्रो भयो। लामो समय देखा परेको समट विन्डोको लाभ उठाउन आरोहीहरू सफल भए।”

सरकारी अधिकारीहरू समयमै डोरी टाँगेर बाटो खोल्ने काम हुन सक्नुलाई त्यसको जस दिन्छन्।

सामान्यतया यस याममा मे महिनाको अन्त्यसम्मै विगतमा आरोहण हुने गरेको पाइन्छ।

तर यस पटक अधिकांश पर्वतारोहीले सगरमाथा चढिसकेको र बाँकी केही आरोहणकै क्रममा रहेको बताइएको छ।

शरद याम र हिउँदमा समेत विगतमा छिटफुट आरोहण हुने गरे तापनि पछिल्ला कैयौँ वर्षमा त्यसो भएको पाइँदैन।

Share Now

Leave a comment.