काठमाडौं, ६ जेठ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले ठूला दलका उम्मेदवारहरूलाई पछाडि पार्दै निरन्तर अग्रता लिइरहेका छन्। यो स्थानीय तह निर्वाचनमा देशैभरि अन्यत्र पनि कतिपय स्वतन्त्र उम्मेदवारहरू उदाएका छन्।
निर्वाचन आयोगका अनुसार बुधवार साँझसम्म कतिपय स्वतन्त्र उम्मेदवार स्थानीय तहको प्रमुख पदमा निर्वाचित भइसकेका छन् भने अझै केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिइरहेका छन्।
अघिल्लो स्थानीय तह निर्वाचनमा पनि छवटा गाउँपालिकामा अध्यक्षसहित २ सय ३३ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए।
अघिल्लो निर्वाचनमा डोल्पामा मात्रै दुई पालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित भए पनि नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारहरू निर्वाचित हुन सकेनन्।
चार वर्षअघि स्वतन्त्र र वैकल्पिक दलका उम्मेदवारले राम्रो मत ल्याएको काठमाडौं र धनगढीमा यो निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिएका छन्।
बैतडीमा स्वतन्त्रको समूह
सुदूरपश्चिम प्रदेशस्थित बैतडीको डिलासैनी गाउँपालिकामा अध्यक्षसहित तीनवटा वडा अध्यक्ष र सदस्यका सबै पद स्वतन्त्र उम्मेदवारको समूहले जितेको छ।
पुतली चुनाव चिह्न लिएर गाउँपालिका अध्यक्षमा निर्वाचित सन्तोष प्रकाश जोशीले एमाले र गठबन्धनको तर्फबाट माओवादीका उम्मेदवारलाई पराजित गर्नुभयो।

काठमाडौंमा बसेर पढेका ३५ वर्षीय जोशीले स्थानीय तह निर्वाचनका लागि आफूले विगत पाँच वर्षदेखि तयारी गरिरहेको बताउनुभएको छ ।
जनस्वास्थ्य पढेर केही समय दार्चुलामा काम गर्नुभएका जोशीले समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको थियो।
सातवटा वडा रहेको गाउँपालिकामा स्वतन्त्र उम्मेदवारहरूले वडा नम्बर ४, ५ र ७ मा सबै पदमा जित हासिल गरेका छन्।
जोशी जनतामा पार्टीहरूप्रति विकर्षण र असन्तुष्टि रहेको बताउँनुहुन्छ।
“जनतामा पार्टीहरूप्रतिको निकै ठूलो विकर्षण छ अहिले। नेताहरूलाई हेर्ने दृष्टिकोणमा पनि हिजोको दिनभन्दा आज निकै फरक छ”, उहाँले भन्नुभयो।
प्रत्येक व्यक्तिसम्म पुगेर मत मागेको दाबी यो समूहको छ। जोशीको समूहले स्थानीय रेडियो, सामाजिक सञ्जाल र मोबाइलको सहयोगमा आफ्नो प्रचारप्रसार गरेको थियो।
स्वतन्त्र भएर चुनाव जित्न ूफलामको चिउरा चपाए जत्तिकैू कठिन हुने आफ्नो अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “हामीले प्रत्येक मतदातासँग हाम्रा विषयवस्तु स्पष्टसँग राख्यौँ भने त्यति धेरै ठूलो चुनौतीको विषय पनि छैन।”
स्थानीय स्तरमा स्वतन्त्रता र अघिल्लो स्थानीय सरकारले गरेका कमी कमजोरीको विषयलाई यो समूहले चुनावी मुद्दा बनाएको थियो।
डोल्पामा निरन्तर स्वतन्त्र
अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार निर्वाचित भएको डोल्पाको डोल्पो बुद्ध गाउँपालिकामा यो पटक पनि स्वतन्त्र उम्मेदवार गाउँपालिका प्रमुखमा निर्वाचित भए।
अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका तेम्बा गुरुङ माओवादीमा प्रवेश गर्नुभयो।
यो पटक पुनः माओवादीबाट गाउँपालिका प्रमुखको उम्मेदवार बन्नुभएका गुरुङलाई अर्का स्वतन्त्र उम्मेदवार कर्मा छोइवेल गुरुङले पराजित गर्नुभयो।
“पार्टी मन नपराएर स्वतन्त्र भएका होइनन्। गठबन्धनमा कुरा नमिलेर स्वतन्त्र भएको हुन्। पछि समाजवादीमै प्रवेश गर्छन् होला”, उक्त गाउँपालिकाको राजनीतिबारे जानकार डोल्पाका व्यवसायी ओम मगरले भन्नुभयो, “सिद्धान्तविहीन राजनीति हो त्यहाँ। पछि एउटा दलमा विलय हुन्छ। अहिले पार्टीको नाम नलिएको मात्रै हो।”
मगरका अनुसार डोल्पामा राजनीतिक दलहरूले सङ्गठन निर्माण गरेको लामो समय नै भएको छैन।
“पहिले पार्टी भन्ने नै थिएन। मानिसहरू पहिले लाग्दैन थिए। अहिले बल्लबल्ल राजनीतिक सिद्धान्त मौलाउँदै छ”, उहाँले भन्नुभयो।
बर्दिवासमा पनि स्वतन्त्रको जगजगी
महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार प्रह्लादकुमार क्षेत्री विजयी हुनुभयो । मनोनयन दर्ता गर्ने समयमा उहाँको टिकट खोसिएको थियो ।
पार्टीबाट टिकट खोसिएपछि प्रल्हादकुमार क्षेत्रीले स्वतन्त्रबाट उम्मेदवारी दिनुभयो । उहाँले उपमेयरमा तारा देवी सहित स्वतन्त्रको प्यानल नै बनाउनुभयो ।
उहाँले १४ हजार २१० मत ल्याउदै क्षेत्रीले चुनाव जित्नुभयो उमपेयरमा तारा देवीले ९ हजार ७ सय ३६ मत ल्याउनुभयो ।
खत्रीकै प्यानलबाट वडा नम्बर १ मा भोला खड्का, ७ मा रामस्वगारथ यादव १३ मा लक्ष्मण सिंह र १४ मा विजयकुमार महतो वडाध्यक्ष निर्वाचित हुनुभयो ।
क्षेत्रीले स्वतन्त्रबाट चुनाव जित्दा कांग्रेसका आधिकारिक उम्मेदवार चिरञ्जीवी हमाल १२६३ मतसहित चौथो स्थानमा पुग्नुभयो ।

मतदान गर्दै बालेन शाह
काठमाडौंमा निरन्तर बालेन अगाडि
सङ्घीय राजधानी काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले टोलैपिच्छे सङ्गठन भएका दलका उम्मेदवारहरूलाई पछि पारिरहनुभएको छ।
उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा १०,००० भन्दा बढी मतान्तर कायम गर्नुभएको छ ।
दलका उम्मेदवार एमालेको केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले पाएको कुल मतको सेरोफेरोमा वा बढी मत हात पार्दै बालेनले निरन्तर अग्रता लिइरहेका छन्।
काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजारभन्दा केही बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ।
धनगढीमा गोपाल हमाल
सुदूरपश्चिम प्रदेशकै धनगढी उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार गोपाल हमालले दलका उम्मेदवारहरूलाई फराकिलो मतान्तरले पछि पारिरहनुभएको छ।
आँप निर्वाचन चिह्न पाएका हमालले एमाले र गठबन्धनबाट कांग्रेसका उम्मेदवारलाई यो समाचार तयार पार्दा बिहीवार बिहानसम्म फराकिलो मतान्तरले पछि पारिरहनुभएको छ।

मतगणना
यसअघिको स्थानीय तह निर्वाचनमा पनि धनगढीको मेयरमा उम्मेदवारी दिनुभएका हमाल नेपाली कांग्रेसका नृपबहादुर वडसँग ३ हजार भन्दाकम मतले पराजित हुनुभएको थियो।
यो निर्वाचनमा पनि हमाल र कांग्रेसका वडबीच नै प्रतिस्पर्धा छ।
व्यावसायिक पृष्ठभूमिका हमालले केही वडामा पनि स्वतन्त्र उम्मेदवारहरू उठाउनुभएको छ ।
तर पछिल्लो चुनावी नतिजाअनुसार उहाँको समूहका उम्मेदवारहरूको वडामा भने अग्रता देखिएको छैन।
जनकपुरमा सुडीको अग्रता
मधेश प्रदेशको राजधानी जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले अग्रता लिइरहनुभएको छ।
यो उपमहानगरमा अर्का स्वतन्त्र उम्मेदवारले पनि धेरै दलका उम्मेदवारहरूभन्दा राम्रो मत पाइरहेका छन्।
पाँचदलीय गठबन्धनले जनता समाजवादी पार्टीका नेतालाई नगरप्रमुखको पदमा उठाएपछि सुडी आफ्नो दल नेपाली कांग्रेसप्रति असन्तुष्टि व्यक्त गर्दै स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो।
दलभन्दा बलिया स्वतन्त्र
निर्वाचन आयोगका अनुसार बुधवार साँझसम्म कतिपय स्वतन्त्र उम्मेदवार स्थानीय तहको प्रमुख पदमा निर्वाचित भइसकेका छन् भने अझै केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिइरहेका छन्।
कर्णालीको कालीकोटमा मात्रै दुईवटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भए। कालीकोटको खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका एकीकृत समाजवादीका नेता कमलबहादुर शाही मेयरमा निर्वाचित हुनुभएको छ।
जिल्लाकै सन्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा पनि स्वतन्त्र उम्मेदवारी दिएका मोहनबहादुर केसी विजयी हुनुभयो।
जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा पनि कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजु सिंह कठायत निर्वाचित भएका छन्।
डोल्पाको डोल्पो बुद्ध गाउँपालिकामा पनि स्वतन्त्र उम्मेदवार विजयी भए।

विजय र्याली
कर्णालीपछि धेरै स्वतन्त्र उम्मेदवार प्रदेश १ बाट निर्वाचित भएका छन्।
प्रदेश १ मा भोजपुरको साल्पासिलिछो गाउँपालिकाको अध्यक्ष र ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका अध्यक्षमा पनि स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।
भोजपुरमा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दौलथकुमार राई र ओखलढुङ्गामा ज्ञानेन्द्र रुम्दालीले स्वतन्त्र उम्मेदवारी दिएरै निर्वाचित हुनुभएको हो।
स्वतन्त्र किन सफल
जिविस महासङ्घका भूतपूर्व अध्यक्ष कृष्णप्रसाद सापकोटा स्वतन्त्र उम्मेदवारहरूप्रतिको आकर्षणमा तीन कारण रहेको बताउँनुहुन्छ।
- राजनीतिक दलहरूले सहभागितामूलक ढङ्गले उम्मेदवार छान्ने पद्धति अपनाउन सकेनन्
- दलहरूले जनतामा भरोसा र विश्वास दिलाउन नसकेका कारण स्वतन्त्र उम्मेदवारहरूले सफलता पाए। दलहरूले समृद्धिका नारा दिने र कार्यान्वयन नगर्ने गरे
- उम्मेदवार दिँदा विगतको क्रान्ति र परिवर्तनका लागि योगदान गरेकालाई प्राथमिकता दिनुपर्छ भनेर सोच्ने गर्छन्। अहिलेको पुस्ताले क्रान्ति पनि भोगेको छैन, विगतमा कसले के योगदान गर्यो त्यसको मूल्य पनि बुझेको छैन। आफ्नो जीवनमा
- परिवर्तनका निम्ति कसले के गर्यो गरेन भन्ने उनीहरू मूल्याङ्कन गर्छन्
- दलहरूले घोषणापत्रमा महत्त्वाकाङ्क्षी योजना अघि सार्ने तर पूरा नगर्ने गर्नाले मतदाताको रोजाइमा स्वतन्त्र उम्मेदवार परेको सापकोटाको बुझाइ छ।
“दलहरू जनताप्रति उत्तरदायी हुनुपर्छ। त्यो कुरा सच्याउने हो भने राजनीतिक दलको लोकतन्त्रमा विकल्प पनि हुँदैन। दलहरू नसच्चिएसम्म जनताले दलहरू प्रति भरोसा गर्ने अवस्था पनि हुँदैन”, उहाँले भन्नुभयो।
सापकोटा स्वतन्त्र भएर निर्वाचित भएकाहरूले पनि काम गर्न सहज नहुने बताउनुहुन्छ।
“सामूहिक निर्णयबाट चल्ने प्रणाली हो स्थानीय निकाय भनेको। अब उहाँहरू एक जना मात्रै जितेर के परिवर्तन ल्याउनुहुन्छ? कि स्वतन्त्रको टीम नै आउने हो भने परिवर्तन गर्न सक्नुहोला”, संविधानसभाका भूतपूर्व सदस्य पनि रहेका सापकोटाले भन्नुभयो।(स्रोतःबीबीसी)


















