काठमाडौं, ६ जेठ । सन २०१४ मा आयोजना भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगिताकी एक जना रनरअपले आयोजकले होटलमा बोलाएर बेहोस बनाएर बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको श्रब्यदृश्यसहितको भिडियो बुधबार टिकटक, ट्वीटर र इन्स्टाग्राममा पोष्ट गरेपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ ।
बालकलाकारको रुपमा चलचित्रमा खेलेको हुनाले मोडलिड. र अभिनय क्षेत्रमा नै वृत्तिविकास खोज्ने अभिप्रायले कक्षा १२ को परीक्षा दिएपछि हाउस अफ फेसनमा अडिसन दिएकी पीडितले त्यसमा छनोट नभए पनि फोटो सार्वजनिक भएपछि भिसा ग्लोबल कन्सल्टेन्सीले ‘फोटोसुट’ का लागि अफर गरेको बताउनुभएको छ ।
‘अफर आएपछि म निकै उत्साहित भएँ, कन्सल्टेन्सीको मान्छे र एक जना फोटाग्राफर मिलेर मेरो फोटोसुट गराए, कन्सल्टेन्सीको मान्छेले मलाई पाँच हजार रुपैयाँ दियो,’ उहाँले आफैले पोष्ट गरेको भिडियोमा भन्नुभएको छ, ‘कन्सल्टेन्सीको मान्छेले मलाई सुन्दरी प्रतियोगिता आयोजना गर्न लागेको बतायो, म पहिले पनि यस्ता प्रतियोगितामा भाग लिएकाले सहभागी हुन तयार भएँ ।’
‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी पीडित ‘फर्स्ट रनर–अप’ र मिस फोटोजेनिक सहितका टाइटल जित्नुभयो ।
आयोजकले उहाँलाई फोन गरेर नयाँ बानेश्वरको एभरेस्ट होटलमा ‘सक्सेस पार्टी’ आयोजना गरेको भन्दै बोलाएको अन्य सहभागी नआउञ्जेल विश्राम गर्न भनी पेय पदार्थ लिन लगाएको त्यो खाएपछि बेहोस भएको बताउदै भन्नुभएको छ, बेलाबेलामा होस खुल्दा आफूमाथि बलात्कार भइरहेको थाहा पाए तर प्रतिकार गर्न सक्ने अवस्था भएन ।
उहाँले भोलिपल्ट बिहान होस खुल्दा आयोजक आफूसितै सुतिरहेको थाहा पाएको र आफू चिच्याएर रुन थालेपछि पैसा देखाएर फकाउन खोजेको बताउनुभएको छ । आयोजकले भिडियो तथा फोटो खिचिसकेको भन्दै धम्क्याएको र ‘नग्न तस्बिर र भिडियोहरू लिएको छु, सार्वजनिक गरिदिन्छु भन्दै ब्लाकमेल गरेर ६ महिनासम्म यौन शोषण गरिरहेको उहाँले बताउनुभएको छ ।
पीडितले एक साथीसंग आयोजक एजेन्सीको कार्यालयमा गएको र अडियो रेकर्ड, टेक्स्ट मेसेजहरू सुनाएको, आक्रोशित साथीले आयोजकलाई कुटेको, आफूले पनि एक–दुई झापड हानेको र माफी माग्न लगाएको बताउनुभएको छ । उहाँले आफू कन्सल्टेन्सीमा गएको दिन सो प्रतियोगिताकी कोरियो ग्राफर माल्भिका सुब्बालाई सारा घटना बताएको तर यो मेरो सरोकारको विषय होइन भनेर फोन राखेको बताउनुभएको छ ।
उहाँले यही घटनाले गर्दा आफ्ना सामाजिक सम्बन्धहरू टुटेको, दोषीलाई कारबाही नभएको देखेर आत्मबल कमजोर भएको, डिप्रेसनमा पुगेको, औषधीले काम नगरेको र मनोचिकित्सकको सल्लाह अनुसार यो घटना सार्वजनिक गरेपछि केही हल्का महसूस हुन्छ कि सार्वजनिक गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘म सत्य कुरा बोल्दै छु किनकि यत्रो वर्ष मनमा राखेर न म सन्चो भएँ न मेरो थेरापीले काम गर्यो न मेडिसिनले । तर, मेरो साइकियाट्रिकले यो लुकाउनु हुँदैन, बोल भन्नुभयो, हिम्मत बटुलेर सार्वजनिक गरेकी हुँ ।’
पीडितले उल्लेख गरेको प्रतियोगिता आयोजना गर्ने भिसा ग्लोबल कन्सल्टेन्सीका प्रमुख मनोज पाण्डे भिडियो सार्वजनिक भएपछि सम्पर्कविहीन हुनुभएको छ ।
पीडितले चर्चा गरेका फोटोग्राफर आफू नै भएको श्रीधर पौडेलले नै सार्वजनिक गर्नुभएको छ। पौडेलले मोडलिङ एजेन्सीले बोलाएकाले व्यावसायिक रूपमा फोटो खिचेको र त्यसबापतको पारिश्रमिक लिएको बताउदै पीडित र उहाँका साथी आयोजककै कार्यालयमा पुगेको दिन होहल्ला भएपछि कार्यालयकै मान्छेले बोलाएकाले आफू पनि पुगेको उल्लेख गर्र्दै भन्नुभएको छ, ‘पाण्डेले यौन शोषण गर्यो भनेर बहिनीले भनेपछि मलाई पनि त्यो मान्छेसँग रिस उठेको थियो । यस्तो इभेन्ट आइन्दा नगर्नॅ भनेर पाण्डेलाई बकाएर फकिएको हो ।पुलिसकोमा जाऊँ भनेको भए त्यतिबेला पनि गइन्थ्यो । पीडित बहिनीलाई अहिले पनि कानुनी उपचारमा सहयोग गर्न म तयार छु ।’
घटना हुँदा पीडितको उमेर १६ वर्षको थियो । कानुनी उपचारमा जान सुन्दरी प्रतियोगिताकी कोरियोग्राफरले साथ नदिएको उहाँले बताउनुभएको छ । उहाँले आफूसंग धेरै प्रमाण लामो समय सुरक्षित राखेको तर कानूनी उपचारमा नगाएकोले ती हेर्दा आफैलाई पीडा भएपछि डिलिट गरेको बताउनुभएको छ ।
म माफिकालागि पनि योग्य रहिनः माल्भिका
पीडितको भिडियो सार्वजनिक भएपछि माल्भिकाले सामाजिक सञ्जालमार्फत माफी माग्नुभएको छ ।
सामाजिक सञ्जाल टिकटकमार्फट पीडितले आफूमाथि बलात्कार भएको विषयमा सुब्बालाई भन्दा वेवास्ता गरेको आरोप लगाउनुभएको थियो।
पीडितको कुरापछि सामाजिक सञ्जालमा सुब्बामाथि धेरैले नकारात्मक प्रतिक्रिया दिएपछि उहाँले फेसबुकमा लामो पोष्ट लेख्दै माफी माग्नुभएको हो।
सामाजिक सञ्जालमा सुब्बाले पीडितलाई सम्बोधन गर्दै लेख्नुभएको छ, ‘म माफी माग्न चाहान्छु, मलाई राम्रोसँग याद छैन, उनीमाथि भएको के थियो भनेर तर मलाई याद छ तिमीले मलाई फोन गरेकी थियौ र कुरा गर्न खोजेकी थियौ तर त्यो समयमा तिमीलाई सहयोग गर्न सकिन। जुन समयमा तिमीलाई मेरो आवश्यक्ता थियो।’
उहाँले लेख्नुभएको छ, ‘यो माफी दिन योग्य छैन र मैले तिमीबाट यो आशा पनि गरेकी छैन। म माफी माग्न चाहान्छु त्यो समयमा मैले तिमीलाई राम्रोसँग सुनिन र विश्वास गरिन र सहयोग पनि गरिन।
त्यसैले तिमी मप्रति रिसाउनु जायज छ यो सबै कुराको लागि म योग्य छु। मैले सामाजिक सञ्जालमा तिम्रो पोष्टहरु हेरेपछि त्यसपछि तिमीले भोगेका कुराहरुको लागि म जिम्म्ेवार छु। मलाई थाहा छ, अहिले धेरै ढिला भैसकेको छ। तर अब तिम्रो लागि मैले जे गर्न सक्छु त्यो गर्नका लागि म तयार छु।’
माल्भिकाले सबैलाई सम्बोधन गर्दै लेख्नुभएको छ,‘सायद यो ८,९ वर्ष अगाडिको कुरा हुनु पर्छ उनले मलाई फोन गरेकी थिइन्। त्यो बेला मलाई लागेको थियो उनले आफुनो हैन अरु अरुको कुरा सुनाएकी थिइन्। म सबैसँग माफी माग्न चाहान्छु। यो सबै कुरा आइसकेपछि मैले अब त्यो कार्यक्रम (इभेन्ट) र आयोजकसँगको सबैखाले सम्बन्ध चाँडै तोड्दै छु। म सम्झिन्छु कि त्यो समयमा तनावसँग जुधिरहँदा त्यो कति खराब स्थान हो। त्यसलगत्तै वैवाहिक सम्बन्ध छोडिरहेको थिएँ र म आफैँ सहयोगको खोजीमाा थिएँ। अहिले मलाई लाग्छ मेरो त्यतिखेरको क्रियाकलाप वा चाल्नुपर्ने कदम चाल्न नसकेकोमा मेरो ठूलो गल्ती हो। जसले उनीमाथिको अन्यायलाई प्रश्रय दिन योगदान गर्यो।’
माल्भिकाले अगाडि भन्नुभएको छ, ‘मैले त्यतिबेला उनीसँग लामो कुराकानी गर्नुपर्थ्यो। उनलाई भेट्नुपर्थ्यो र उनको हात समाएर अंकमाल गर्नुपर्थ्यो। म उनीसँगै हुनुपर्थ्यो। मैले केही न केही गर्नुपर्थ्यो। उनले भनेजस्तै एकपटक सोध्नुपर्थ्यो कि तिमीलाई ठीक छरु तर मैले गरिनँ। यो ८ वर्षमा मैले यी कुरा गर्नुपर्थ्यो। खासगरी मी२ आन्दोलन चलिरहँदा तर फेरि पनि मैले गरिनँ। त्यसकारण मेराप्रति आउने घृणाभावको लागि म योग्य छु। किनकि एक महिलाको हिसाबले, एक मानवको हिसाबले। तर म यसमा असफल रहेँ।’
पीडकबारे सबै मौन
सामाजिक सञ्जालमा अहिले पीडितप्रति स्वभाविक सहानुभूति प्रकट भएको छ । महिला भएर पनि बलात्कारजस्तो जघन्य अपराधको बारेमा नसुनेकोमा नेपाल सुन्दरी माल्भिका सुब्बाप्रति कटाक्ष प्रकट भइरहेको छ । तर यो घट्नाका असली दोषी अर्थात अपराधी आयोजक मनोज पाण्डमाथि कसैले सोधीखोजी गरेको पाइएको छैन् ।
प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता विष्णुकुमार केसीले यो विषयमा अनुसन्धान भइरहेको बताउदै भन्नुभएको छ, ‘भिडियो बाहिर आएको रहेछ, हामी पनि हेर्दै छौं, बुझ्ने काम भइरहेको छ ।’
यता राष्ट्रिय महिला आयोगले घटनाबारे जानकार रहे पनि चासो देखाएको छैन । उहाँले यस्ता घटनामा छानबिन अगाडि बढाउन आयोगमा उजुरी हाल्नुपर्ने र त्यस्तो उजुरी आएमा प्रहरीको ‘साइबर ब्युरो’ मा पठाउने बताउनुभएको छ ।
मुलुकी ऐनमा बलात्कारविरुद्ध उजुरी गर्न एकवर्षे हदम्याद तोकिएको छ । अपराधी मुलुकमै छ र पीडितले आफ्नो जीवनको लागि न्याय मागेकी छन् । राज्य न्याय दिन नसक्ने अवस्थामा त नहुनुपर्ने हो ।


















