Prakash Adhikari May 21, 2022

 

काठमाडौं, ७ जेठ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम नेपाली कांग्रेसको पक्षमा गएको छ । कांग्रेसले हालसम्म गणना सम्पन्न भएका पालिका मध्ये ३ सय ६ स्थानमा प्रमुख पद जितेको छ । मतगणना चलिरहेका १८ स्थानीय तहमा अझै पनि अग्रता कायम राखेको छ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले २ सय ९४ पालिकाको नेतृत्व जितेको थियो भने नेपाली कांग्रेस र माओवादी केन्द्रले क्रमशः २ सय ६६ र १ सय ६ पालिकाको नेतृत्व जितेका थिए।

२०७४ को निर्वाचनमा पहिलो भएको नेकपा एमालेले अहिलेसम्म १ सय ८७ स्थानीय तहको प्रमुख जितेको छ। मतगणना चलिरहेका देशभरका पालिकामध्ये १९ मा उसका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

२०७४ को तुलनामा यो निर्वाचनबाट आफ्नो अवस्था सुधार गरेको माओवादी केन्द्रले अहिलेसम्म १ सय १७ पालिकाको प्रमुख जितेको छ भने ४ तहमा अग्रता कायम राखेको छ। ं

सत्ता गठबन्धनकै जनता समाजवादी पार्टी (जसपा)ले अहिलेसम्म २४ स्थानीय तहको प्रमुख जितेर चौथो स्थान कायम गरेको छ। उसले ९ स्थानीय तहमा अग्रता कायम गरेको छ।

एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले अहिलेसम्म १७ स्थानीय तहको प्रमुख जितेको छ। २ स्थानीय तहमा उसले अग्रतालाई कायम राखेको छ।

अहिलेसम्म देशभरमा ६ स्थानीय तहको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

महन्थ ठाकुर नेतृत्वको लोसपाले अहिलेसम्म १० स्थानीय तहको प्रमुख जितेको छ भने मतगणना चलिरहेका ६ स्थानमा अग्रता कायम राखेको छ।

राष्ट्रिय जनमोर्चाले अहिलेसम्म ४ स्थानीय तहको प्रमुख जितेको छ भने राप्रपाले ४ तहको प्रमुख जितेको छ।

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीका २ पालिकामा प्रमुख जितेको छ भने सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीका २ पालिका प्रमुख जितेको छ।

नेपाल मजदुर किसान पार्टीले अहिलेसम्म भक्तपुरको एउटा स्थानीय तहमा मात्रै जित हासिल गरेको छ भने तमलोपाले धनुषाको १ स्थानीय तहको प्रमुख जितेको छ।

विवेकशील साझा पार्टीले पनि एउटा स्थानीय तहको प्रमुख जितेको छ।

सत्ता गठबन्धनमा संलग्न दलहरुले हाल विजय हासिल गरेको र अग्रता लिएको सीट संख्या गणना गर्दा कूल ७ सय ५३ को ६६.५० प्रतिशत हुन आउछ जुन दुई तिहाईभन्दाबढी हो ।

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*