Prakash Adhikari May 21, 2022

 

काठमाडौं, ७ जेठ । ६ महिनासम्म निरन्तर यौन शोषणमा परेकी एक पीडित युवतीलाई न्याय दिन माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा शनिवार प्रदर्शन भएको छ ।

मिस ग्लोबल इन्टरनेशनल २०१४ मा सहभागी एक युवतीले आफूलाई सौन्दर्य प्रतियोगिताका आयोजकले निरन्तर ६ महिना यौन शोषण गरेको यथार्थ सामाजिक सञ्जालमार्फत बिहीबार सार्वजनिक गरेपछि यो विषयले राजधानीको सडक र सदन दुवै तातेका छन् ।

प्रदर्शनका सहभागीहरुले महिलाको सुरक्षाको प्रत्याभूति गर, यौन शोषण, महिला हिंसा र बलात्कारका घट्नामा उजुरीको हदम्याद नराख, बलात्कारीलाई कारबाही गर,पीडितलाई न्याय देऊ भन्ने नारा लेखिएका प्लेकार्डहरु बोकेर प्रदर्शन गरेका थिए ।
बलात्कारको विरोधमा उत्रिएका महिलाहरु अधिकांश कालो पहिरनमा थिए ।

उनीहरूले दोषीलाई कारबाही गर्नुपर्ने र बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर्न, बलात्कार सम्बन्धी घटनाको न्याय निरुपणका लागि देखिएको हदम्याद खारेज गर्न माग गरेका छन् ।

सो घटनाको विरोध गर्दै दोषीमाथि कारबाही गर्न र पीडितमाथि न्याय दिलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै शुक्रबार पनि अभियानकर्मीहरुले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरेका थिए । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा बोल्ने सांसदहरुले यस विषयमा कुरा उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले यस घटनाको छानवीन गरी दोषीलाई कारबाही गर्न र पीडितलाई न्याय दिलाउन सरकारलाई रुलिड. गर्नुभएको छ ।

सरकारले बनायो छानबिन समिति

गृह मन्त्रालयले आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा काठमाडौंको एक कन्सल्टेन्सी सञ्चालकले किशोरीलाई बलात्कार गरेको घटनामा सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न प्रतिबद्ध रहेको बताएको छ।

शनिबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्ता घटनामा छानबिन गरी सत्यतथ्य पत्ता लगाएर दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जनाएको हो।

‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित महिला हिंसा सम्बन्धी सामग्री सम्बन्धमा शुक्रबार प्रतिनिधि सभा बैठकमा सासंदहरूले उठाएको विषयमा सभामुखले गर्नुभएको रूलिङ, नागरिक समाजबाट कारबाहीका लागि प्रदर्शन र दबाबका सम्बन्धमा नेपाल सरकार, गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता विषयमा शीघ्र छानविन गरी सत्य तथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध छ।’

मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी(को संयोजकत्वमा छानविन समिति गठन गरेको छ।

समितिमा एसएसपी बसन्त कुँवर, प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सम्मिलित हुनुहुन्छ।

त्यस समितिले काम गरिसकेको गृह मन्त्रालयले जनाएको छ।

मिस ग्लोबल इन्टरनेसनल( २०१४ मा सहभागी एक प्रतियोगीले मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले आफूलाई लेमोनेडमा बेहोस हुने औषधी मिसाइएर खुवाएर बलात्कार गरेको र त्यसको नग्न तस्वीर आफूसंग भएको भन्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्।

उनी त्यसबेला १६ वर्षकी थिइन्। उनले सो घट्नाका बारेमा सो सौन्दर्य प्रतियोगिताकी कोरियोग्राफर माल्भिका सुब्बालाई जानकारी गराएको तर सुब्बाले त्यो तेरो समस्या हो मेरो होइन भनेर फोन राखेको पनि उल्लेख गरेकी थिइन ।

यो घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि माल्भिका सुब्बाले समेत माफी मागिसकेकी छन र आफूले पर्दाखेरी सहयोग गर्न नसकेकोमा पश्चाताप पनि गरेकी छन् ।

Image

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*