
बुटबल(रुपन्देही), ७ जेठ । नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय ३० हजार १ सय ३० मत ल्याई बुटवल उपमहानगरपालिकाको मेयरमा विजयी हुनुभएको छ ।
पाण्डेले नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार बाबुराम भट्टराईलाई ७ हजार ५ सय ३३ मतान्तरले पराजित गर्नुभयो । पराजित बाबुराम भट्टराईले २२ हजार ५ सय ९७ मत पाउनुभएको थियो ।
२०५४ सालदेखि २०७४ सालसम्म बुटबल नगरपालिकाको नेतृत्व गर्दै आएको नेकपा एमालले यो निर्वाचनमा उपप्रमुखमा चित्त बुझाउन बाध्य भयो । उपप्रमुखमा एमालेकी उम्मेदवार सावित्रादेवी अर्याल २४ हजार ९ सय ४ मतसहित विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी(का उम्मेदवार चीनबहादुर गुरुङले १६ हजार ९ सय ८० मत मात्र ल्याउनुभयो ।
बुटवलमा ६३ हजार १७ मत खसेको थियो । बुटबलमा कांग्रेससहितको ५ दलीय गठबन्धन एकातिर र अर्कोतिर एमाले र जनमुक्ति पार्टीको गठबन्धन थियो । उपमहानगरपालिकामा जनमुक्ति पार्टीका केही उम्मेदवारले सदस्य जितेका छन् ।
बुटवलका १९ मध्ये ११ वडा कांग्रेसले जितेको छ । एमाले ५ वडामा खुम्चिएको छ । स्वतन्त्र, गठबन्धनबाट रुख चिन्ह लिएको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक(एक वडा जितेका छन् ।
२०७४ को चुनावमा बुटबल उपमहानगरपालिकामा प्रमुख,उपप्रमुखसहित १६ वडा एमालेले जितेको थियो । कांग्रेस २ वडामा मात्रै खुम्चिएको थियो ।
लुम्बिनी प्रदेशमो राजधानी दाङ लैजानु, पार्टीनको विभाजन, मोतीपुर औद्योगिक क्षेत्र मुआब्जा विवाद, चौराह गोलपार्क क्षेत्रको भताभुङ्ग राजमार्ग र मतदाताबीच कम भिजेका प्रमुखका उम्मेदवार एमालेको पराजयको कारण भएको बताइन्छ ।
बुटवल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्रसमेत हो ।